१८ मंसिर २०७४, सोमबार
  • रामगोपाल तमखु

भक्तपुर। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भक्तपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भैसकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुरमा अधिकांश मतदान केन्द्रकोरुपमा विद्यालय र तत्कालीन गाविस भवनहरुलाई प्रयोग गरिएको छ ।

मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउन हरसम्भव प्रयास गरिएपनि नसकिएको स्वीर्कादै जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतलाई मतदान केन्द्रमा लाइनमा नबसेर सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था भने मिलाइएको जानकारी दिनुभयो । निर्वाचनमा खटिने कर्मचारी सोमबादेखि आ–आफ्ना मतदान केन्द्र जान शुरु गरेको निर्वाचन कार्यालय प्रमुख राईले बताउनुभयो ।

सम्भवतः मंगलबार बेलुकासम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने र १९ र २० गते मतदाता परिचयपत्र पनि वितरण भइसक्ने जिल्ला निर्वाचन अधिकारी राईले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा १ हजार ६ सय ७२ जना कर्मचारी निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका छन् ।

भक्तपुरका ७८ मतदान केन्द्रमध्ये संवेदनशीलका रुपमा रहेका ३४ मतदान केन्द्रमै सुरक्षा अबस्था फितलो देखिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई यसअघि नै असुरक्षित घोषणा गरिसकेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोण पोखरेलले संवेदनशील मानिएका मतदान केन्द्रमा अन्य केन्द्रभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको दाबी गरेपनि स्थानीय मतदाताले भने सुरक्षा अबस्था कमजोर रहेको बताएका छन् ।

जिल्लामा अहिले ७ सयको हाराहारीमा जनपथ प्रहरी, त्यसतिकै हाराहारीमा म्यादी प्रहरी, ३ सयको हाराहारीमा शसस्त्र र नेपाली सेना परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

मतदानका दिन देखिनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी सो दिन आबश्यकता परेमा संवेदनशील केन्द्रमा थप सुरक्षाबल पठाईने जिल्ला प्रशासन भक्तपुरले जनाएको छ ।

LIVE TV