१८ मंसिर २०७४, सोमबार

काठमाडौं । सुनसरी क्षेत्र नम्बर २ को ‘क’ बाट उम्मेदवार रहेका एमाले उम्मेदवार सर्वध्वज साँवाले इटहरीमा आकाशे पुल बनाउने र उक्त पुलमा डेटिङ स्पट बनाउने योजना प्रस्तुत गरेका छन्।

चुनावी सभालाई सम्बोधन गर्दै साँवाले भनेका छन्, ‘हामी के बनाउन चाहान्छौँ इटहरीलाई? अब हामी इटहरीलाई आह! इटहरी बनाउन चाहान्छौँ। कसरी त ? हामी इटहरीको चारैतिर आकाशे पुल बनाउनेछौं र, यसलाई हामी युवायुवतीको डेटिङस्थल बनाउनेछौं।’ साँवाको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ।

युवायुवतीका लागि डेटिङस्थल कमी भएको उल्लेख गर्दै उम्मेदवार साँवाले थपे, ‘अहिले हामी गोर्खा डिपार्टमेन्ट अगाडि आइज न भन्छौँ। अब आकाशे पुलमा आइज भन्छौ, त्यहाँ सेल्फी खिच्छौ, फोटो खिच्छौ।’

उनले इटहरीलाई हरितनगरी बनाउने र बाहिरबाट आउनेहरु जंगलमा पसे कि सहरमा पसे भनेर कन्फ्युज हुने बताए। त्यसैगरी उनले जंगलदेखि सबै ठाउँमा फूल पनि रोपिने र फूलैफूलको सहर बनाउने दाबी गरेका छन्।

इटहरीलाइ स्वस्थ नगरी बनाउने र ६ जना डाक्टर भए पुग्ने स्वस्थ नगरी बन्ने उनको दाबी थियो। भने, ‘हामी सानातिना चोटपटक लाग्दा धरान कि विराटनगर जानुपर्छ। अब इटहरीमा स्वस्थ नगरी बनाउने। जम्माजम्मी ६ जना डाक्टर भए पुग्ने रहेछ। हड्डी विशेषज्ञा, नसा विशेषज्ञा, स्त्री रोग विशेषज्ञा, बाल विशेषज्ञा चाहियो। आँखा र दाँतका छदैछन्। धेरै तनखा दिएर भएपनि यहाँ ल्याइनेछ। र दुई सय बेड भएको अस्पताल बनाइनेछ।’

साँवा इटहरीका पूर्व मेयर हुन्। स्थानीय निकायको निर्वाचनमा इटहरी उपमहानगरपालिकाबाट मेयरमा उम्मेदवारी दिने चर्चा चलेपनि उनी उम्मेदवार भने बन्न पाएनन्। द्वारिकालाल चौधरी हाबी भएपछि उनले टिकट पाएनन्। अहिले उनै चौधरी त्यहाँका मेयर छन्। ताप्लेजुङ खोप्लिङमा जन्मेका साँवा पछिल्लो समय सुनसरीमै सक्रिय छन्।

भिडियो हेर्नुहोस

LIVE TV