१८ मंसिर २०७४, सोमबार

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर मकमास्टरले अमेरिका र उत्तर कोरियाबीचको युद्धको सम्भावना बढ्दै गएको बताएका छन्। अमेरिकाको क्यालिफोनिर्यामा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्तर कोरियाले बलेको आगोमा घ्यू थपिरहेको बताए। अमेरिकाले बिना हतियार उत्तर कोरियासँगको युद्धको सामना गर्ने बताउँदै अमेरिकाले आक्रमण गरेमा उत्तर कोरिया पूर्णरुपमा ध्वस्त हुने उनले दाबी गरे।

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण माथि रोक लगाउनमा सहयोग गर्नका लागि चीनले उत्तर कोरिया निर्यात गर्दै आएको तेलमा प्रतिबन्ध लगाउनुपर्ने अमेरिकाले बताउँदै आएको छ। उत्तर कोरियाले गत बुधबार जापानमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र अहिले सम्मकै शक्तिशाली अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र भएको दाबी समेत उत्तर कोरियाली नेता किम जोन उनले गरेका थिए।

हालसम्मकै ठूलो सैन्य अभ्यास सुरु

उत्तर कोरियाको कडा चेतावनीका बाबजूद अमेरिका र दक्षिण कोरियाले हालसम्मकै सबैभन्दा ठूलो हवाइ सैन्य अभ्यास सुरु गरेका छन्। सोमबार सुरु भएको पाँच दिने सो सैन्य अभ्यासमा दुई दर्जन स्टिल्थ जेटसहित सयौँ विमान सहभागी भएका छन्।

उत्तर कोरियाले ह्वसङ–१५ नामक नयाँ र विशाल अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको एक साता बित्न नपाउँदै दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेका हुन्।

सो सैन्य अभ्यासमा उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण स्थलको नमूना तयार गरी त्यसमा आक्रमणको अभ्यास पनि गरिने दक्षिण कोरियाली सेनाले जनाएको छ। ‘भिजिलेन्ट एस’ नाम दिइएको यो सैन्य अभ्यासले युद्धका लागि गठबन्धन सेनाको क्षमता र तयारीलाई बढाउने अपेक्षा गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ। सबैखाले मौसम, दिन र रातमा पनि अभ्यास गरिनेछ।

संयुक्त सैन्य अभ्यासबारे उत्तर कोरियाले कडा चेतावनी दिएको छ । अमेरिकी कदमले कोरियाली प्रायद्वीपलाई आणविक युद्धको सम्मुख पुर्‍याएको बताउँदै प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ। उत्तर कोरियाको मिसाइल परीक्षणले अमेरिका लगायत उसका गठबन्धन मुलुकहरूलाई कडा चुनौती दिएको छ।

LIVE TV