१८ मंसिर २०७४, सोमबार

काठमाडौँ । इन्ट्याग्रिटी आइडलको चौथो संस्करण ‘इन्ट्याग्रिटी आइडल नेपाल २०१७’ का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ । यस वर्षको उत्कृष्ट पाँचमा जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग बबरमहलमा सहायक वन अधिकृतका रुपमा कार्यरत सवनम पाठक, पञ्चदेव मावि कालीकोटका गणित शिक्षक सवराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सिर्जना तिवारी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक र पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह सदस्य रहनुभएको निर्णायक समितिले मनोनयनमा परेकामध्येबाट उत्कृष्ट पाँच जनाको नाम चयन गरेको थियो ।

जनताप्रति सरकारी कर्मचारीलाई जवाफदेही बनाउने उद्देश्यले सन् २०१४ देखि इन्ट्याग्रिटी आइडलको शुरुवात गरिएको हो । सन् २०१४ मा पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटी आइडल हुनुभएको थियो भने सन् २०१५ मा गुल्मीका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल विजेता हुनुभएको थियो ।

त्यसैगरी, सन् २०१६ का विजेता सिद्धबाबा मावि गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीस हुनुहुन्थ्यो । नेपालबाट शुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा लाइबेरिया, पाकिस्तान, माली, नाइजेरिया र दक्षिण अफ्रिकालगायतका देशमा विस्तार भइसकेको छ ।

इन्ट्याग्रिटी आइडलका लागि २०१७ जनवरी १५ तारिखदेखि चार महिनाका लागि मनोनयन खुला गरिएकामा देशका ७१ जिल्लाबाट एक हजार २० वटा मनोनयन प्राप्त भएको थियो । देशभरबाट अनलाइन, सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आह्वान गरिएको थियो ।

इन्ट्याग्रिटी आइडलले तय गरेको पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न सात चरणको छनोट प्रक्रिया पछि स्वतन्त्र निर्णायक मण्डलले उत्कृष्ट पाँचको छनोट गरेको थियो ।

अन्तिम पाँचको छनोटपछि एसएमएस र वेबसाइटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रिटी आइडल २०१७ को छनोट गरिने छ । एसएमएस र वेबसाइटबाट भोटिङका लागि उत्कृष्ट पाँच जनालाई बेग्लाबेग्लै भोटिङ कोड निर्धारण गरिएको आयोजक संस्थाले जनाएको छ ।

कृष्ण धितालका लागि भोटिङ कोड १, सवनम पाठकका लागि २, सवराज बमका लागि ३, शेषनारायण पौडेलका लागि ४ र सिर्जना तिवारीका लागि ५ निर्धारण गरिएको छ । मोबाइलको म्यासेज बक्समा गएर आइआइएन टाइप गरी स्पेस दिएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोड लेखी ३४००१ मा पठाउन सकिने छ ।

इन्ट्याग्रिटी आइडलको महत्व नेपाल सरकारका निजामती कर्मचारीले गरेका सिर्जनात्मक अभ्यास र उनीहरूले अवलम्बन गरेका सकारात्मक आचरणको कदर गर्दै नयाँ पुस्तालाई पनि त्यसको अनुशरण गर्न पे्ररित गर्नु हो ।

राष्ट्रसेवक कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण जवाफदेही बनाउनुका साथै नागरिक र सरकारबीचको सम्बन्ध विश्वसनीय, सकारात्मक र पारदर्शी बनाउने उद्देश्यका साथ यस अभियानको थालनी गरिएको आयोजक संस्था एकाउन्टबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

LIVE TV