१८ मंसिर २०७४, सोमबार

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिरासत जोगाउन र नयाँ बिरासत कायम गर्न प्रमुख राजनीतिक दल काठमाडौंमा सक्रिय भएका छन् । निर्वाचन प्रचारको एक दिनमात्र बाँकी रहँदा सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नयाँ इतिहास रच्ने दाबी लोकतान्त्रिक र बाम गठबन्धनले गरेका छन् ।

दोस्रो संविधानसभामा आठ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसले आसन्न निर्वाचनको सम्पूर्ण परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ । क्षेत्र नम्बर ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्दै नौ क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले क्षेत्र नम्बर २ र ७ बाहेक सबैमा आफ्ना उम्मेदवार अघि रहेको दाबी गरेको छ । २ र ७ मा प्रतिस्पर्धा भए पनि परिणाम भने आफ्नै पक्षमा आउने कांग्रेसको दाबी छ ।,खबर नागरिक दैनिकले लेखेको छ ।

वाम गठबन्धनले भने कांग्रेसको बिरासत भत्कने दाबी गर्दै एक दशकपछि काठमाडौंमा नयाँ इतिहास निर्माण हुन लागेको दाबी गरेको छ । छ र चार क्षेत्र बाँडेर चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादीले कम्तीमा सातवटा निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् । वाम गठबन्धनले २, ३, ५ र ७ निर्वाचन क्षेत्रमा जित निश्चित रहेको अन्य क्षेत्रमा कांग्रेस उम्मेदवार प्रतिस्पर्धामा रहे पनि परिणाम आफ्नो पक्षमा आउने अनुमान गरेको छ ।

काठमाडौं महानागरपालिकाका १०, ११, २९ र ३१ वडा रहको क्षेत्र नम्बर १ मा कांग्रेस नेता प्रकाशमान सिंहले पहिलो संविधानसभामा एमाले नेता प्रदीप नेपाललाई ठूलो मतान्तरले पराजित गरेका थिए । ४२ हजार मतदाता रहेको यस क्षेत्रका सबै वडामा कांग्रेसले अग्रता कायम गर्ने कांग्रेस विश्लेषण छ । पूर्वपत्रकार रवीन्द्र मिश्रको उम्मेदवारीले लोकतन्त्रवादीको केही भोट प्रभावित गर्नसक्ने आकलन गरिए पनि आफ्नो प्रतिस्पर्धी वाम गठबन्धनका अनील शर्मा भएको क्षेत्रीय सभापति रवीन्द्रविक्रम राणाले बताए । मिश्रको विषयमा बाहिर चर्चा भएजस्तो नभएको दाबी गर्दै राणाले वडा नम्बर १० बाट केही मतमात्र उनले पाउन सक्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार भारी मतसहित निर्वाचित हुने दाबी गर्दै उनले भने, ‘स्थानीय चुनावमा ३१ वडामा देखिएको कमजोरी पनि समाधान भइसक्यो ।’

काठमाडौं–२ लाई आफ्नो सुरक्षीत क्षेत्र भएको दाबी गरेको एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मैदानमा उतारेको छ । दोस्रो संविधानसभामा दुई ठाउँबाट विजयी नेपालले त्यो क्षेत्र छाडेपछि २०७१ मा भएको उपनिर्वाचनमा विजयी दीपक कुइँकेललाई नै कांग्रेसले अघि सारेको छ । यसपटक पनि एमालेभित्रको आन्तरिक विवाद र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनले परिणाम आफ्नो पक्षमा पार्न थप सहज हुने विश्लेषण कांग्रेसको छ ।

LIVE TV