१७ मंसिर २०७४, आईतवार

इनरुवा। नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको बताउनुभएको छ ।

सुनसरीको बर्जु गाउँपालिकामा आइतबार सुनसरी क्षेत्र नं ३ ले आयोजना गरेको बृहत् चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो ।

नेपाली काँग्रेसका तर्फबाट सुनसरी क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले आफू पटकपटक यो क्षेत्रबाट जितेर गएको र त्यसपछि यस क्षेत्रको डुबान कटान र हिलो धुलो रहेको बाटोमा ग्राभेल तथा पुल निर्माण गरिदिएको बताउनुभयो ।

उहाँले सुनसरी क्षेत्र नं ३ मा आफूले गरेको विकास जनताको आँखासामु छर्लङ्ग रहेको बताउनुहुँदै एमाले माओवादीले गरिरहेको चुरीफुरी जनताले बुझिसकेकाले आफू छैटौँ पटकसमेत जित्ने जिकिर गर्नुभएको छ ।

उपप्रधानमन्त्री गच्छदारले बाँकी रहेको काम अब पूरा गर्ने र ५ वर्षभित्र सबै बाटो कालोपत्र गर्नेसमेत दाबी गर्नुभयो । कार्यक्रममा तीन सयभन्दा बढी विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

LIVE TV