१७ मंसिर २०७४, आईतवार
  • मनोज भुजेल

सुनसरी । पीडाका रुप फरक होलान् तर, सप्तकोशी पीडितहरुको पीडा फरक छैन । सप्तकोशी बाँध भत्किएर घर जग्गा विहिन बनेका सुनसरीका पीडितहरु कहिले राहत पाइएला भन्दै पर्खिरहेका छन् । नजिकिदो निर्वाचनसँगै उम्मेद्वारका आश्वासन सुन्दा सुन्दा हैरान कोशी पीडितहरु अझै आशा राख्छन् ।

कोशीको बाध भत्काएको सुनसरीको श्रीपुर, पश्चिम कुशाह, हरिपुर र लौकहीका करिब ७ हजार परिवारका घर पूर्णरुपमा बाढीले बगाएको ९ बर्ष बितिसक्यो । २०६५ भदौ २ गते कोशीले धार परिवर्तन गर्दै तीन हजार दुईसय ८१ हेक्टर खेतियोग्य जमिन बालुवामा परिणत गरेको थियो । त्यस बाढीले १२ जनाले ज्यान लिएको थियो ।

९ वर्षको यो दौरानमा एक पटक संविधानसभाको निर्वाचन अनि स्थानीय तहको निर्वाचन समेत सम्पन्न भइसक्यो तर, उनीहरुको दुःखमा मलह्म अझै कसैले लगाउन सकेका छैनन् । यसै क्षेत्रबाट उपेन्द्र यादव संविधानसभाको सदस्य बने भने एमाले नेता भीम आचार्य पनि सांसद रहे । आश्वासन बाँड्दै आएका कुनै नेता तथा सांसदहरुले उनीहरुको पीडा मेटाउन अझै नसकेको गुनासो उस्तै छ ।

कोशी फुट्दा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले राहतका प्याकेज घोषणा गरेको थियो तर त्यही राहत समेत उनीहरुले अझै पाउन सकेका छैनन् । कोशी पिडित अझै पनि राहतको आशमा छन ।

तत्कालिन दाहाल सरकारले नन्दन दंतको नेतृत्वमा क्षतिपूर्ती निर्धारण गर्ने र राहत वितरण गर्ने समिति बनाएको थियो । पीडितहरु अझै उक्त समितिले रातहको नाममा ठूलो भ्रष्टचार गर्नेदेखी गैर पीडितलाई राहत बाँड्न सक्रिय बनेको बताउँछन् ।

मधेसी समुदायको बढी वाहुल्य रहेको यस क्षेत्रका पीडितहरुमा शिक्षा, स्वास्थ्य र न्यूनतम आधारभुत आवश्कता पर्ने सेवाबाट पनि अझै बञ्चित छन । कोशीले त्यस समय बगाएको बिद्यालय र स्वास्थ्य चौकी अहिलेसम्म बन्न सकेका छैनन । जसका कारण कोशी प्रभाबित क्षेत्रका पीडितका सन्तान अहिले ५ किलोमिटर टाढा गएर पढ्न बाध्य छन ।

चारै तिर बालुवा नै बालुवा भरिएको यस क्षेत्रमा सबारी साधन समेत पुग्न सक्दैन । आपतकालिन स्थितीमा एम्बुलेन्स र दमकल समेत यस क्षेत्रका भित्री स्थानमा पुग्न मुस्किल छ । २१ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका उम्मेद्धवारहरुले पनि कोशी पिडितका लागी प्रतिबद्धता तथा योजना ल्याएका छन । तर, आश्वासन पूरा होला भन्ने विश्वास उनीहरुमा छैन ।

LIVE TV