१७ मंसिर २०७४, आईतवार
  • स्पृहा श्रेष्ठ

काठामाडौं । पहिलो चरणको निर्वाचनमा छिटफुट घटना बाहेक समग्रमा शान्तिपूर्ण रुपमा सफल भए लगतै दोस्रो चरणको निर्वाचन पनि सफल हुने बिश्वास गरिएको छ । तर दिन प्रतिदिन निर्वाचन सुरक्षालाई चुनौती दिने गरि बम बिस्फोटको घटना बढिरहदा सुरक्षा व्यवस्थालाई थप चुस्त र दुरुस्त बनाउनु पर्ने आवश्यकता खड्किएको छ ।

दोस्रो निर्वाचन नजिकिदै गर्दा ठाउँठाउँमा बम विस्फोटका घटनाहरु बढिरहेको छ । अवैध हातहतियार र बम बनाउने सामग्री सहित प्रहरीले केहि नेपाली तथा केहि भारतीय नागरिकहरुलाइ पक्राउ पनि गरेको छ ।उम्मेदवार लक्षित शृंखलाबद्ध रूपमा बिस्फोटन हुन थालेपछि प्रहरीहरु अझै सक्रिय बनेका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज न्यौपानेले बम बिस्फोटन घटना बढिरहदा ८ विभिन्न ठाउँमा बिस्फोटन गराउने व्यक्तिहरु पक्राउ गर्न प्रहरी सफल भएको र पक्राउको क्रम पनि जारी रहेको बताउनु भयो । बम डिस्पोज गर्दा आउने आवाजलाइ कतिपयले नबुझेर बम बिस्फोटनको आवाज मानि होहल्ला गर्दा बातावरण अझै त्रासपूर्ण हुन गएको भनाई पनि न्यौपानेको छ ।

सेना टोलीले बम बिस्फोटनका पदार्थलाइ निस्क्रिय गर्न सफल नभएको पनि होइन । निर्वाचनमा शान्ति सुरक्षाका क्रममा खटिएका एक जना म्यादी प्रहरीको बम बिस्फोटनका कारण ज्यान समेत गुमेको छ भने कतिपय सुरक्षाकर्मी सुरक्षाको क्रममा घाइते भएको अवस्था रहेको छ ।

बम विस्फोटका घटनाहरु बढिरहेका भएपनि बम डिस्पोजलको क्रममा अधिकांश बमहरु नक्कली रहेको प्रहरी बताउछ । यस्ता बम बिस्फोटन तथा बम बनाउने सामग्री फेला पर्ने घटनाहरु खुल्ला सिमानाका कारण पनि भएको देखिन्छ। यसै कारण सीमामा कुकुरको प्रयोग गरिएको छ भने अन्य शैलीको चेकजाँचलाई पनि कडा पारिएको छ ।

बम तथा अन्य अवैध हातहतियार सीमाबाट भित्रिन नदिन निर्वाचनको समयमा भारतीय सीमा सुरक्षा बलले पनि सुरक्षा निगरानी बढाएको छ । प्रहरीले पछिल्लो समय संखुवासभा , उदयपुर , सिरहा तथा अन्य ५ स्थानमा भएको घटनामा संलग्नहरुलाई पक्राउ गर्न पनि सफल भएको छ । निर्वाचन विथोल्ने अभियानमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्नु प्रहरीले आफ्नो ठूलो सफलताकोरुपमा लिएको छ ।

LIVE TV