१७ मंसिर २०७४, आईतवार

नवलपरासी बर्दघाट सुस्तापूर्व २ मा देशभक्त गणतान्त्रिक मोर्चाका नारायण पंगेनी मोटरसाइकलमार्फत चुनाव प्रचार गर्दै । तस्बिरः अन्नपूर्ण
साना दलको ‘सस्तो’ प्रचार

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले प्रचार तीव्र पारेका छन् । ठूला दलको तुलनामा कमजोर देखिए पनि उनीहरू कुनै कसर नराखी प्रचारमा जुटेका छन्।ठूला दल राष्ट्रिय अखबारमा छाउन थालेका छन् भने साना दल सामाजिक सञ्जालमा केन्द्रित छन् ।

साना दलका उम्मेदवारले सामाजिक सञ्जालका साथै विभिन्न अनलाइन र युट्युब च्यानल प्रयोग गरिरहेका छन् । कतिपय उम्मेदवारले आफ्ना प्रोफाइल विभिन्न अनलाइनमा छ्यापछ्याप्ती बनाएका छन् । ठूला दलको प्रचारमा ओझेल परेका साना दलका उम्मेदवारले मतदाता रिझाउन विभिन्न शैली अपनाएका छन् ।

काठमाडौं ४ बाट विवेकशील साझा पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुबुना बस्नेत कात्तिक अन्तिमदेखि टेम्पो रिजर्भ गरेर प्रचारमा जुटिरहेकी छन् । उनी प्रचारमोहले नभई वातावरणमैत्री टेम्पो चढेर स्वावलम्बनको उदाहरण दिन खोजेको तर्क गर्छिन् । ‘यो चर्चा कमाउने उद्देश्यले गरिएको होइन । वातावरण प्रदूषणविरुद्ध उदाहरण पेस गर्न खोजेकी हुँ’, उनी भन्छिन् । विवेकशीलका अन्य उम्मेदवार पनि टेम्पो प्रयोग गरिरहेका छन् ।

ललितपुर १ बाट संघीय समाजवादी फोरमका प्रतिनिधिसभाका प्रत्याशी योगेन्द्र घिसिङले आफ्नो जीवनकथालाई स्केच बनाएर बाँडिरहेका छन् । चुनावी पर्चामा उनकोे सम्पूर्ण जीवन कथा पढ्न पाइन्छ । उनले बाल्यकालमा हलो जोतेको, गोठालो गएको, स्कुल गएको र युद्धमा घाइते भएको स्केचमा कोर्न लगाएर ब्रोसरमा छापेका छन् ।

तस्बिरलाई फ्लेक्स बोर्डमा समेत प्रिन्ट गरी गाउँगाउँमा टाँसेका छन् । चित्रको माथि उनले ‘तस्बिर आफैं बोल्छ’ समेत लेखेका छन् । ‘लोकतन्त्र प्राप्तिका लागि मैले गरेको संघर्ष चित्रमा उल्लेख गरेको हुँ । जीवन कथा सुनाएर भोट मागेको होइन’, उनले भने ।

नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र २ मा देशभक्त गणतान्त्रिक मोर्चाबाट प्रतिनिधिसभाका प्रत्याशी नारायण पंगेनी तीन सातादेखि मोटरसाइकलमार्फत प्रचार गरिरहेका छन् । दुई÷चार जना मतदाताबीच पुग्दै उनले फेसबुकमा फोटो अपलोड गर्ने गरेका छन् । उनी सम्पूर्ण निर्वाचन क्षेत्रमा मोटरसाइकलमै पुगे । शुक्रबारबाट भने उनले प्रचारका लागि ठूलो गाडी प्रयोग गरेका छन् । ‘मेरो उम्मेदवारी जितभन्दा दुई गठबन्धनलाई कमजोर बनाउनु हो’, उनले भने । उनी बेलाबेलामा स्थानीय टेलिभिजनमा पनि देखिने गरेका छन् ।

नयाँ शक्तिबाट काठमाडौं ७ का प्रतिनिधिसभा प्रत्याशी ईश्वर रिजाल पनि मोटरसाइकलमै चुनावी अभियान सञ्चालन गरिरहेका छन् । घरदैलो कार्यक्रम, कोणसभा गर्दै आएका उनी बेलाबेला फेसबुक लाइभ पनि गर्छन् । उनी भन्छन्, ‘अरूले हजारौं फ्लेक्स बोर्ड बनाए । मैले थोरै बनाएर केही चोकमा टाँगेको छु ।’

प्रचारमा चिठी
साना दलका उम्मेदवारले प्रचारमा कुनै कसर बाँकी राखेका छैनन् । सामाजिक सञ्जालका साथै चिठी लेखरै मतदातालाई दिइरहेका छन् । घरदैलोमा पुगेपछि उनीहरूले प्रत्येक घरबाट सम्पर्क नम्बर संकलन गर्छन् । त्यसपछि फोन र एसएमएस गर्छन् । विवेकशील साझाकी बस्नेत भन्छिन्, हामीप्रति सकारात्मक मतदाताबाट सम्पर्क नम्बर संकलन गरिरहेका छौं । त्यसपछि एकसाथ सबै जनालाई एसएमएस र फोन गर्छौं ।’ फोन मात्रै होइन, चिठीसमेत पठाउने गरेको उनले बताइन् । चिठीको व्यहोरामा धन्यवाद पत्र भए पनि आफ्नो एजेन्डा र पार्टीको उपस्थिति उद्यमीबीच पुर्‍याउने नीति रहेको उनी स्विकार्छिन् ।

नयाँ शक्तिका उम्मेदवार रिजालसँग संयोजक बाबुराम भट्टराईले मतदातालाई सम्बोधन गरी लेखेको चिठी छ । उनी घरदैलो कार्यक्रममा जाँदा उक्त पत्र घरबेटीको नाममा सम्बोधन गरी प्रेषित गर्छन् । संयोजक भट्टराईको चिठीबाट आफूले मत हासिल गर्नेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘संयोजक बाबुराम भट्टराईज्यूको पत्रले जनमानसमा प्रभाव पार्ने सम्भावना छ ।’

संघीय समाजवादीका घिसिङले भने चिठी पत्र बाँडेका छैनन् । उनले ब्रोसरमा मिहिनेत गरेको देखिन्छ । गणतान्त्रिक मोर्चाका पंगेनीसँग पनि कुनै पत्र छैन, बरु आर्थिक सहयोगका लागि ‘अनुरोधपत्र’ छ । ‘चुनाव लड्न केन्द्रबाट आर्थिक सहयोगका लागि अनुरोध पत्र आएको छ । त्यही बाँड्दै छौं’, उनी भन्छन् ।

‘जित होइन उपस्थिति मात्रै’
उनीहरू जित्नका लागि नभई आफ्नो पार्टीको उपस्थिति देखाउन मात्रै चुनावी मैदानमा उत्रिएको बताउँछन् । नयाँ शक्तिका उम्मेदवार रिजाल भन्छन्, ‘केही मत पाउने आशा छ । पहिलो नै हुन्छु भन्नेचाहिँ दाबी छैन ।’ लोकतान्त्रिक मोर्चाका पंगेनी आफ्नो उम्मेदवारी जितका लागि नभई संगठन सृढृढीकरणका लागि भएको बताउँछन् ।

त्यस्तै, संघीय समाजवादीका घिसिङ चुनावमा जित नै हुन्छ भन्नेमा विश्वस्त छैनन् । भन्छन्, ‘जित सुनिश्चित नभए पनि उपस्थिति देखाउने हाम्रो मनसाय हो ।’

उनीहरू ठूला दलका उम्मेदवारले मतदातालाई विवेकहीन बनाउन खोजेको र आचारसंहितासमेत उल्लंघन गरेको आरोप लगाउँछन् । ‘जनतालाई विवेकहीन बनाउने कोसिस भएको छ’, उनी भन्छन्।

रिजाल र बस्नेत पनि आफूले आचारसंहिता पालना गरिरहेको बताउँछन् । उनीहरू भन्छन्, ‘हामी सरकारमा छैनौं । हामीसँग आचारसंहिता उल्लंघन गर्ने आँटै छैन । समाचार संस्थाहरूले हामीमाथि भेदभाव गरिरहेका छन् ।’

निर्वाचन आचारसंहिता, २०७२ मा सामान्य आचरण र विषयगत आचरण उल्लेख छ । जसअन्तर्गत राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचार-प्रसार गर्दा प्रत्येक दिन बढीमा ७÷७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने उल्लेख छ । त्यस्तै, उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घन्टाको अन्तरालमा चौबीस घन्टामा बढीमा चारपटक र एकपटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने व्यवस्था छ । तर, आचारसंहितमा अनलाइन, सामाजिक सञ्जाल र युट्युब च्यानलजस्ता माध्यमको उल्लेख छैन । यी माध्यमबारे निर्वाचन आयोग मौन देखिन्छ ।

आयोगका प्रवक्ता नवराज ढकाल मतदातालाई उम्मेदवारले चिठी लेख्दा आचारसंहिता उल्लंघन नहुने बताउँछन् । उनी भन्छन्, ‘मतदाताले नम्बर दिएपछि आबद्धता देखिन्छ । त्यसमा फोन किन गर्‍यो भन्नु उचित हुन्न । अत्यधिक मात्रामा ‘भोट गर्नुस्’ भन्ने फोन र एसएमएस आयो र आयोगमा उजुरी पर्‍यो भने मात्रै कानुनी कारबाही अगाडि बढाउन मिल्छ ।’

साना दलको प्रचारशैली
– काठमाडौं ४ मा विवेकशील साझा पार्टीकी सुबुना बस्नेत टेम्पो रिजर्भ गरेर प्रचारमा जुटिरहेकी छन् । उनी प्रचारमोहले नभई वातावरणमैत्री टेम्पो चढेर स्वावलम्बनको उदाहरण दिन खोजेको तर्क गर्छिन् ।
– ललितपुर १ मा संघीय समाजवादी फोरमका योगेन्द्र घिसिङ आफ्नै जीवनकथालाई स्केच बनाएर बाँडिरहेका छन् । उनले बाल्यकालमा हलो जोतेको, गोठालो गएको, स्कुल गएको र युद्धमा घाइते भएको स्केच ब्रोसरमा छापेका छन् ।
– काठमाडौं ७ मा नयाँ शक्तिका ईश्वर रिजाल र नवलपरासी बर्दघाट सुस्तापूर्व २ मा देशभक्त गणतान्त्रिक मोर्चाका नारायण पंगेनी मोटरसाइकलमार्फत प्रचार गरिरहेका छन् । उनीहरू बेलाबेला फेसबुक लाइभ पनि गर्छन् ।
– साना दलका उम्मेदवारले फोन, एसएमएस र चिठीमार्फत पनि भोट दिन आग्रह गरिरहेका छन् ।

LIVE TV