१६ मंसिर २०७४, शनिबार

काठमाडौँ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन स्वतन्त्र र तटस्थ भएर पर्यवेक्षण गर्न निर्देशन दिएको छ ।

निर्वाचनमा काठमाडौँ, भक्तपुर र ललितपुरमा खटिने पर्यवेक्षणका लागि आयोजित प्रशिक्षणमा निर्वाचनविनाको लोकतन्त्रको कल्पना गर्न नसकिने हुनाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित तुल्याउन सरकार, राजनीतिक दल, उम्मेदवार र निर्वाचन आयोगबाट भएको कामकारबाही विधिसम्वत् भए÷नभएकाबारे अध्ययन गर्न सुझाव दिइयो ।

सो अवसरमा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले स्वच्छ र स्वतन्त्ररुपमा हुने निर्वाचनबाटै राज्यमा उत्पन्न हुने ठूलाठूला मुद्दा समाधान हुने कुरालाई हृदयगम गरी जिम्मेवारी पूरा गर्न सुझाव दिँदै हाम्रा पछिल्ला निर्वाचनले समावेशी लोकतन्त्रको मामिलामा नेपालले दक्षिण एसियामा उदाहरण प्रस्तुत गरेको छ भन्नुभयो ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले मतदानको मितिको समयसीमाको चापका करण मतदाता शिक्षा कम भएको जस्तो देखिए पनि राजनीतिक दल, उम्मेदवार र आयोगबाट अहिले घनिभूत ढंगबाट भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा केही दिनयता देखिएका घटना मतदानका दिनसम्म पुग्दा पूर्णरुपमा बन्द हुनेछ, मतदातालगायत सबैमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, परिस्थितिलाई तत्काल नियन्त्रण गर्न हाम्रा सुरक्षा फौजसक्षम हुनुहुनेछ ।’’

जियोकका सदस्य–सचिव कृष्णमान प्रधानले पर्यवेक्षकलाई निर्वाचन कानून, निर्वाचन प्रक्रिया, आचारसंहिताको पालनालगायतका विषयमा पर्याप्त जानकारी दिन प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

जियोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनका लागि मुलुकका २२ जिल्लामा ५०० को संख्यामा पर्यवेक्षक खटाएको छ । उक्त संस्थाले काठमाडौँ, ललितपुर र भक्तपुरमा १२० जना पर्यवेक्षक खटाएको जनाएको छ ।

LIVE TV