१६ मंसिर २०७४, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्धिको दिशामा अगाडी बढाउनका लागि भएको स्पष्ट पारेका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता माधवकुमार नेपालका लागि भोट माग्न शनिबार बिहान काठमाडौंको पेप्सिकोला क्षेत्रमा घरदैलो अभियानमा सहभागी हुँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अब देशलाई स्थिरता र विकासको बाटोमा लैजानुको विकल्प नरहेको बताए ।

प्रचण्डले नेता नेपालका लागि भोट माग्दै भने ‘माधव नेपाल जी शान्ति सम्झौताका लागि सबैभन्दा बढी योगदान गर्ने व्यक्ति हुनुहुन्छ । तत्कालीन समयमा उहाँ र मैले निकै जोखिम मोलेर भए पनि भारतका विभिन्न ठाउँमा भेतवार्ता गरी शान्ति सम्झौतालाई सार्थक रुप दिएका हौँ ।’ देशलाई शान्तिको बाटोमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने नेता नेपालको आवश्यकता अब आर्थिक विकास र समृद्धिको बाटोमा देशलाई लैजानका लागि पनि रहेकाले उहाँलाई भोट दिन प्रचण्डले मतदातासँग आग्रह गरे ।

यस्तै काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार नेपालले सुशासन र विकास निर्माणका काममा हुने ढिलासुस्ती हटाउनका लागि वाम गठबन्धनको विकल्प नरहेको बताए । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा सहभागी भएका माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै भने ‘म चितवन गएको थिएँ, त्यहाँ उहाँको जित सुनिश्चित छ । उहाँ नेपाली राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने व्यक्ति हो ।’

नेता नेपालले प्रचण्ड र आफू दुई शान्तिपूर्ण र सशस्त्र आन्दोलनको प्रतिक रहेको पनि बताए । घरदैलो अभियानमा प्रचण्ड र नेता नेपालसहित एमाले तथा माओवादीका अरु नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

LIVE TV