१६ मंसिर २०७४, शनिबार

इलाम । एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेसले इलामको गहनाको रुपमा रहेको चिया बगान विदेशीलाई बेचेर इलामको मात्र होइन, देशकै घोर अपमान गरेको बताएका छन् । उनले बासबारी जुत्ता कारखना र हेटौंडा कपडा कारखनाजस्ता कारखनाहरु विदेशीलाई कौडीको मूल्यमा विक्री गरेर कांग्रेसले मुलुकलाई विदेशीहरुको बजार बनाएको बताए ।

इलामको चुनावी सभामा नेपाली कांग्रेसकै कारण हामी विदेशमा निर्भर रहनु परेको भन्दै खनालले भने-”नेपाली कांग्रेसको राष्ट्रियता खोक्रो र विदेशीको पूजा गर्ने राष्ट्रियता हो । कांग्रेसकै कारण मुलुक विदेशी पूँजीपतिको नियन्त्रणमा पुगेको छ । यस्तो व्यवस्था कांग्रेसले ल्याएको छ ।”

खानालले थपे, ”हिजो मुलुक क्रान्ति र आन्दोलनको युगबाट अघि बढ्यो । अब विकासको गति लिएर अघि बढ्ने छ ।” खनालले वाम गठबन्धनको सरकारले विकासको नयाँ लहर ल्याएर गरिबीको अन्त्य गर्ने पनि बताए ।जनताको भाग्य र भविष्य उज्वल बनाउनका लागि वाम गठबन्धन गरेर चुनाव लडिरहेकाले निर्वाचनलाई सफल बनाउनका लागि गतिशील भएर लाग्न पनि खनालले आव्हान गरे ।

बरिष्ट नेता खनालले कांग्रेसले संविधान जारी हुने बित्तिकै यसको कार्यान्वयन जोड दिनुपर्नेमा विदेशीको अनुकूलतामा संशोधन गर्न खोक्रो बनाउने खेलमा लागेकाले संविधानलाई जोगाउनका लागि पनि बाम गठबन्धन गरेको बताए । वाम गठबन्धनलाई अब बलियो र उन्नत बनाएर एउटै कम्प्युनिष्ट पार्टी बनाएर संविधानको संरक्षण, कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउने पनि खनालले बताए ।

 

LIVE TV