१५ मंसिर २०७४, शुक्रबार

महेन्द्रनगर, धनुषा। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेशी जनताको राजनीतिक अधिकार र विकासका लागि काँग्रेसको विकल्प नभएको बताउनुभएको छ ।

जनकपुरको मिल्स एरियास्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरी धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका निधिले विगतमा आफूले गरेको कामको मूल्यांकन गरेर जनता आफ्नो पक्षमा रहेको उल्लेख गर्दै आफू यस क्षेत्रबाट अत्यधिक मतले विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनताले आफूलाई जिताएर पठाउँदा गाउँगाउँ र जनकपुरको गल्लीगल्लीमा सडक बनाएको, राजर्षि जनक विश्वविद्यालय बन्ने वातावरण बनाएको र अहिले जटहीदेखि ढल्केवरसम्मको छ लेन सडक निर्माण जस्ता उल्लेखनीय विकास निर्माणका काम गरेको हुँदा यस क्षेत्रका जनताले भारी मत अन्तरले मलाई विजयी गराउने छन् ।”

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग तपाईँको प्रतिस्पर्धा छ कि छैन भनेर पत्रकारले राखेको जिज्ञाशामा नेता निधिले उहाँ (महतो) ‘हावामा उड्ने’ नेता भएको टिप्पणी गर्नुभयो ।

LIVE TV