१५ मंसिर २०७४, शुक्रबार

उदयपुर । गृहिणीहरुलाई प्रविधिमैत्री बनाउनका लागि उदयपुरमा कम्प्युटर साक्षरता अभियान सुरु गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका सदरमुकाम गाईघाट स्थित संगम सामुदायिक पुस्तकालयले महिलाहरुलाई लक्षित गरेर कम्प्युटर साक्षरता अभियान सुरु गरेको हो ।

महिलाहरुको खाली समयलाई सदुपयोग गराउदै कम्प्युटर र प्रविधिसंग जोड्दै साक्षर बनाउनका लागि अभियान सुरु गरिएको पुस्तकालयले जनाएको छ । करिब १४ बर्ष अघिबाट सुरु गरिएको पुस्तकालयले पछिल्लो समय ई लाइब्रेरी समेत सञ्चालन गरेको छ । जीवनपर्यन्त शिक्षाका लागि संगम सामुदायिक पुस्कालय हाम्रो प्रतिबद्धता भन्ने नारा सहित पुस्तकालयले कमप्युटर साक्षरता अभियान सुरु गरिएको जनाएको छ ।

पुस्कालयमा दैनिक १०० जनालाई कमप्युटर शिक्षा दिईने तयारी गरिएको छ । पढ्ने बानीको विकास गर्नका लागि पुस्कालयमा बालक देखि बृद्धासम्मलाई समेटिने गरि पुस्तकहरु संकलन गरिएको छ । पुस्तकालयले महिलाहरुलाई लक्षित गरेर संचालन गर्न लागेको कम्प्युटर साक्षरता अभियानबाट महिलाहरु पनि खुसी देखिएका छन् ।

पुस्तकालयले जिल्लाको आठ वटै स्थानीय तहमा पुस्तकालयहरुको स्थापना गर्दै गाउँ गाउँमा प्रविधिको बढ्दो विकाससंगै समृद्ध समाज निर्माण गर्ने अठोट लिएको छ । महिलाहरुलाई प्रविधि मैत्री बनाउदै बढ्दो सूचना प्रविधिको विकाससंग जोड्न उदयपुरमा संगम सामुदायिक पुस्तकालयले चालेको कदम उदाहरणीय छ ।

LIVE TV