१५ मंसिर २०७४, शुक्रबार

प्रत्येक हप्ताको शुक्रबार आफ्नो फिल्म प्रदर्शन गर्न हानाथाप गर्ने निर्माताहरु यो हप्ताको शुक्रबार भने कुना पसेका छन् । किनकी, यो हप्ताको शुक्रबार नयाँ भनिएका कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । मंसिर १ गतेबाट प्रदर्शनमा आएको सौगात मल्ल र बेनिशा हमाल स्टारर फिल्म झ्यानाकुटी बाहेक अन्य नाम सुनिएका फिल्म हल पसेका छैनन् ।

पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण गएको हप्ता कुनै पनि ठूला भनिएका नेपाली फिल्म प्रदर्शन नआउँदा झ्यानाकुटीुले केही राहत महशुस गर्‍यो । हुनत, नामै नसुनिएको जुन त लाग्यो तारालेु नामक फिल्म गएको हप्ता मध्यम वर्गिय दर्शकलाई लक्षित गर्दै प्रदर्शनमा आएको थियो । तर, यो फिल्मले आफ्नो शोमा दर्शकको मुख नै देख्न पाएन ।

मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण यो हप्ता कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएका हुन् । नेपाली मात्र होइन बलिउडका प्रतिक्षीत भनिने फिल्म पनि नेपालका मल्टिप्लेक्समा लागेका छैनन् । यही मौकाको फाइदा सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म फाटेको जुत्ताले उठाएको छ ।

यो फिल्मलाई शुक्रवारबाट क्यूएफएक्सले २ शो उपलब्ध गराएको छ । राजधानीको कुमारी हलमा आजबाट पुनः फाटेको जुत्ता प्रदर्शनमा आएको छ । निर्माता अर्जुन कुमारले पहिलो हप्तामै फिल्म हिट भएको भन्दै सिक्वेलको समेत घोषणा गरिसकेका छन् ।

निर्वाचनको प्रत्यक्ष असर यतिबेला नेपाली फिल्मको रिलिज र व्यापारमाथी परेको छ । निर्वाचन सकिए लगत्तै भने मंसिर २९ गते सुपर गोर्खे र माई लभ नामक नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । यस्तै, पुषको पहिलो हप्ता बलिउडस्टार सलमान खान अभिनीत फिल्म टाइगर जिन्दा हे ले नेपाली हलमा एकल प्रदर्शनको मौका पाएको छ ।

LIVE TV