१४ मंसिर २०७४, बिहीबार
  • विनय तिम्सिना

इलाम ।  पहिलो चरणको निर्वाचन सकिएलगत्तै दोस्रो चरणको सरगर्मी बढेको छ । कूल दुई लाख चार हजार ५० मतदाता रहेको पूर्वी पहाडी जिल्ला इलामका उम्मेद्वारहरुले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा रहेको इलाममा प्रतक्षतर्फ छ जना प्रतिनिधि आवश्यक पर्छ । इलामको निर्वाचन क्षेत्र एकमा आठ दल र दुईमा दश दल गरि जम्मा ५१ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

इलाममा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, पूर्व सभामुख, पूर्व राज्य मन्त्री केशव थापा तथा जिल्लामा लोकप्रिय युवा तथा समाजसेवी नेताहरुले उम्मेद्वारी दिएको इलाम निकै चर्चाका साथ हेरिएको छ । इलाममा वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेद्वारबीच नै मुख्य प्रतिस्पर्धा हुने मतदाताहरुको बुझाई छ । दोस्रो चरणअन्तर्गत इलाममा २१ गते हुने निर्वाचनका लागि उम्मेद्वार तथा पार्टी समर्थकहरु मत माग्न अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमा समेत आफ्ना समर्थकहरुको मत मागिरहेका छन् ।

प्रतिनिधिसभा दुई वटा क्षेत्र रहेको इलाम क्षेत्र नम्बर १ मा बामगठबन्धनका एमाले उम्मेद्वार झलनाथ खनालको प्रतिस्पर्धा नेपाली कांग्रेसबाट भूपेन्द्र कट्टेलसँग हुँदैछ । क्षेत्र नम्बर २ मा बामगठबन्धनकै एमालेका उम्मेद्वार सुवासचन्द्र नेम्वाङको प्रतिस्पर्धा काँग्रेसका केशव थापासँग हुँदै छ । थापा पनि कांग्रेसका दरिला उम्मेद्वार मानिन्छन् । यस अघि तीन वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक भने दुई वटा मात्र कायम गरिएको छ ।

२०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा खनाल क्षेत्र नम्बर १, नेम्बाङ् क्षेत्र नम्बर २ र थापा क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले सदरमुकाममा निर्माणाधीन सुकिलुम्बा विमानस्थललाई पूर्णता दिन, ग्रामीण सडकको स्तरोन्नति गर्न, सुविधा सम्पन्न अस्पताल बनाउन, युवालाई रोजगारी दिन नसकेको गुनासो मतदाताले गरिरहेका छन् ।

उम्मेद्वारहरु मत माग्न गाउँगाउँमा जाँदा मतदाताले भने अघिल्लो पटक गरेको कामका बारेमा जिज्ञासा राख्ने गरेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा खनालप्रति जनताको गुनासो बढी छ भने क्षेत्र नं २ मा नेम्वाङ र थापाप्रतिको गुनासो पनि कम छैन ।

LIVE TV