१४ मंसिर २०७४, बिहीबार
  • रिया भण्डारी

काठमाडौं। नेपालमा सन् २०१६ सम्म ३२ हजार ७ सय ३५ जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । तीमध्ये १४ हजार ५ सय ४४ अर्थात ४० प्रतिशत मात्र सरकारको एआरभी उपचारमा छन् ।

विश्व एड्स दिवसको यो वर्षको नारा ‘मेरो स्वास्थ्य मेरो अधिकार’ रहेको छ। ३०औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २००५ देखि २०१६ सम्ममा एड्सको कारणले मृत्यु ४८ प्रतिशतले घटेको तथ्य समेत जानकारी गराइएको हो । नेपालमा करिब ७० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक छ ।

केन्द्रका अनुसार सन् २०१० देखि सन् २०१६ सम्ममा विश्वव्यापी ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४७ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको छ । नेपाल सरकारले ७५ वटै जिल्लामा निःशुल्क एचआइभी परीक्षणको सेवा दिएको र एचआइभी संक्रमितहरुलाई निःशुल्क औषधि उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

LIVE TV