१३ मंसिर २०७४, बुधबार

एक व्यक्तिले आफ्नी १० वर्षकी छोरीलाई जिउँदै गाडेका छन् । भारतको त्रिपुरास्थित पुटिया गाउँमा शुक्रबार भएको यो त्रासदीपूर्ण घटनामा अब्दुल हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ र बालिकाको उद्धार गरेको छ ।

छोरी मन नपरेको भन्दै श्रीमती घरबाहिर गएको मौका छोपेर हुसेनले आफ्नी छोरीलाई घरपछाडिको बगैँचामा एक खाल्डो खनेर गाडेका हुन् । छोरीको दुबै हात डोरीले बाँधेर मुखमा टेप टाँसिदिएपछि उनले आफुले खनेको खाल्डोमा छोरीलाई हालेका थिए । छोरीलाई खाल्डोमा हालिसकेपछि उनले माटोले पुरेका थिए ।

छोरीलाई खाल्डोमा पुर्दै गरेको अवस्थामा श्रीमती घरमा आइपुगेपछि उनले बाँसको टोकरी बालिकाको टाउकोमा घोप्टाइदिएका थिए । श्रीमतीको आँखा छलेर केही समयपछि टोकरीले छोपेकी छोरीलाई पूर्ण रुपमा पुर्ने उनको योजना रहेछ ।

घरमा आइपुगेकी श्रीमतीले छोरीलाई घरमा नदेख्दा लोग्नेलाई सोधिन् । तर लोग्ने हुसैनले थाहा नभएको बताएपछि उनले यताउति खोज्न थालिन् । छोरी हराएको भन्दै उनले छिमेकीलाई समेत खबर गरिन् । सबै मिलेर खोज्दा अन्त्यमा घरपछाडि खाडलमा आधा जिउ पुरिएको अवस्थामा छोरीलाई फेला परिन् ।

लोग्नेले छोरी पुरेको पोल खुलेपछि उनले प्रहरीलाई खबर गरिन् । सबै मिलेर हुसैनको रामधुलाई गरे । हुसैनलाई प्रहरीले पक्राउ गरेको छ र उनिमाथि ज्यानमार्ने उद्योगमा मुद्दा चल्ने भएको छ । स्मरण रहोस् भारतमा यस्ता क्रुर लैंगिक हिंसाका घटना बेलाबखतमा हुने गरेका छन् । ४ महिनाअघि उत्तर प्रदेशमा एक ७ वर्षकी बालिकालाई समेत जिउँदै गाडिएको थियो ।

LIVE TV