१३ मंसिर २०७४, बुधबार
  • ज्योतिकुमार पन्थी

बर्दिया।  बिगतका बर्षहरुमा भन्दा यस बर्ष बर्दिया जिल्लामा महिला हिंसाको घटनामा कमी आएको तथ्यांक सार्वजनिक गरिएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा बुधबार बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा आयोजना गरिएको कार्यक्रममा बिगतका बर्षहरुमा भन्दा यस बर्ष महिला हिंसाका घटनमा कमी आएको तथ्यांक सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्यांक हेर्दा बर्दिया जिल्लामा आर्थिक बर्ष ०७२।०७३ मा कुल १ सय १६ महिला हिंसाका घटनाहरु भएको देखिन्छ भने आर्थिक बर्ष ०७३।०७४ मा त्यो संख्या घटेर १ सय ९ मा झरेको देखिन्छ । यस आर्थिक बर्षको बितेको चार महिनामा महिला हिंसामा समेत कमी आएको छ ।

यस आर्थिक बर्षको चार महिनामा २३ वटा मात्र महिला हिंसाका घटनाहरु भएको देखिन्छ । बर्दिया जिल्लाको गुलरियामा दलित महिला संघ बर्दियाले आयोजना गरेको कार्यक्रममा बर्दिया जिल्लामा हुने महिला हिसांका घटनामा कमि आएको भए पनि अहिले त्यसमा दलित महिलाहरुको संख्या बढी रहेको दलित महिला संघ बर्दियाका अध्यक्ष हेमा सुनारले बताउँनु भयो ।

बर्दिया जिल्लामा यस अर्थिक बर्षको बितेको चार महिनामा कुल २३ वटा महिला हिंसाको घटना भएको देखिन्छ । जसमा जवरजस्ती करणी ९, आत्महत्या ६, बोक्सी आरोप २, जवरजस्ती करणी उद्योग २, बिष सेवन २ र मानव बेच बिखनका २ वटा घटनाहरु भएको देखिन्छ । पछिल्लो समय हेर्दा जिल्लामा महिला हिंसाका घटनाहरु हुने गरेको भए पनि यस आर्थिक बर्षको तथ्यांकमा भने उल्लेखनीय मात्रामा कमी आएकाले बर्दिया जिल्लामा महिला हिसाको घटनामा कमी आएको कानुनी सहायता समिति बर्दियाका प्रमुख लक्ष्मी नेपालले बताउँनु भयो ।

पर्याप्त मात्रामा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिनु ,महिला अधिकार र समानताको विषयमा पुरुषहरु सहृदयी बन्दै जानु जस्ता भावनाले पनि बर्दियामा महिला हिंसाका घटनाहरु कम हुँदै गएको विश्लेषण पनि गरिन थालिएको छ ।

LIVE TV