१३ मंसिर २०७४, बुधबार

काठमाडौं । काठमाडौंमा उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब साढे २ अर्ब रुपैयाँ नतिरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पूर्ण हिसाबकिताब तीन दिनभित्र उपलब्ध गराउन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ।

लामो समयदेखि अर्बौं बक्यौता उठाउन ताकेता नगरेपछि मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय तथा त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय प्राधिकरणले विमानस्थल व्यवस्थापनसँग शुल्कसम्बन्धी हालसम्मको सबै हिसाबकिताब उपलब्ध गराउन निर्देशन दिएको हो।

लामो समयदेखि विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय र उनको ‘टिम’ ले ठूलो परिमाणको बक्यौता उठाउन ताकेता नगरेपछि प्राधिकरणले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिको संयोजकमा प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ छन् । समितिले काम सुरु गरिसकेको छ।

‘विभिन्न वायुसेवा र कम्पनीसँग उठाउन बाँकी रकमको पूर्णविवरण तीन दिनभित्र उपलब्ध गराउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका छौं,’ छानबिन समितिका संयोजक श्रेष्ठले भने, ‘यसबारे हामी सम्बद्ध वायुसेवा कम्पनीसँग पनि छलफल गर्छौं।’

प्राधिकरणले छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिएको छ । अर्बौं हिसाबको कागजात धेरै भएका कारण शुल्क नबुझाएका सबै वायुसेवा तथा अन्य कम्पनीसँग पनि छलफल गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

‘उनीहरूले साँच्चिकै नतिरेका हुन् वा तिरेर पनि बहिखातामा चढाउन बाँकी वा छुटेको हो भन्नेबारे छानबिन गर्छौं,’ श्रेष्ठले भने, ‘यदि बक्यौता शुल्क नउठाएर मिलेमतो गरेको पुष्टि भयो भने सम्बद्ध अधिकारीलाई कारबाहीको सिफारिस गर्नेसम्मको अधिकार छानबिन समितिलाई छ।’

जबकि तिनै वायुसेवा कम्पनीहरूले नेपालमा उडान गरेर वार्षिक झन्डै ८० अर्ब रुपैयाँ आफ्ना देश लैजाने गरेका छन् । नेपालको उड्डयन बजार करिब १ खर्ब रुपैयाँबराबर पुगिसकेको छ । यसमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको हिस्सा करिब १० प्रतिशतहाराहारी छ।

जति रकम उठ्न बाँकी छ, त्यसमध्ये थोरै हिस्सामात्र उपाध्याय विमानस्थल प्रमुख हुनुभन्दा अगाडिको र ठूलो हिस्सा उनले जिम्मेवारी लिएपछिको भएको तथा यसमा उपाध्यायसहित विमानस्थलको अर्थ महाशाखा, राजस्व शाखामा कार्यरत सबै कर्मचारीको मिलेमतो रहेको स्रोतको दाबी छ।

‘त्रिभुवन विमानस्थलका महाप्रबन्धक उपाध्यायले नियतवस बक्यौता नउठाएको देखिएको छ र यसमा आर्थिक चलखेलको शंका छ,’ स्रोतले भन्यो, ‘लामो समय बक्यौता उठाउन बेवास्ता गरेपछि प्राधिकरण मुख्यालयले यसबारे पटक–पटक पत्राचार गरे पनि उनले जवाफ दिएनन्।’

अमेरिकामा आयोजना भएको एक कार्यक्रममा एक साताका लागि भाग लिन कात्तिक तेस्रो साता त्यता गएका महाप्रबन्धक उपाध्याय बल्ल काठमाडौं फर्किएका छन् । विदेशी मुद्राको अवैध कारोबारमा संलग्न भएको आशंकामा प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि निगरानी गरिरहेको छ।

LIVE TV