१३ मंसिर २०७४, बुधबार

श्यामशितल

लमजुङ । एक छाक खानको जोहो गर्ने हेतुले सयौँ युवा स्वदेश छोडी विदेश भासिन्छन् । तर मनमा जोसजाँगर हुने हो भने स्वदेशकै माटोमा श्रम पसिना बगाई मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् लमजुङ सुन्दरबजारका एक युवाले । उनले विदेशको मोह त्यागी, गाउँमै व्यावसायिक बंगुरपालन गरेका छन् । यसै व्यावसायबाट वार्षिक लाखौँ मनग्य कमाउन सफल पनि भएका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ कुमालटारका बिक्रम कुमालले १५ वर्षअघि विदेश जाने योजनाका साथ राहदानी बनाएँ । राहदानी त बनाएँ तर उनलाई विदेश जान मन लागेन । त्यसपछि कुमालले केही वर्ष विद्युतीय काम गर्न थाले । यस पेशाबाट पनि मनग्य कमाई नभएपछि उनले खेर गएको जमिनमा बंगुर पालन गर्ने सोँच बनाए । २०७१ सालमा साँढे ९ लाखको लगानीमा उनले बंगुरपालन व्यावसाय सुरु गरेका थिए । उनले सुरुमा २५ वटा उन्नत जातका बंगुरबाट यो व्यावसाय सुरु गरेका हुन् ।

उनको बंगुर फार्ममा अहिले सानाठूला गरी झण्डै ७० वटा बंगुर रहेका छन् । फार्मबाट उत्पादित मासु र पाठापाठी स्थानीय बजारमै खपत हुन्छ । बंगुरपलान व्यवसायबाट मासिक झण्डै ६० हजारसम्म कमाइहुन्छ । यसै व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि उनलाई अब विदेश जाने कुनै चाह छैन । बरु यसै व्यावसायलाई बिस्तार गर्ने योजना छ ।

उत्पादित मासु प्रतिकेजी ३ सय रुपैयाँका दरले स्थानीय बजार सुन्दरबजार, भोटेओडारमै खपत हुने गरेको छ । मासुभन्दा पाठापाठी बेच्न फाईदा हुने कुमालको अनुभव छ । दिनरात नभनी उनी बंगुरकै स्याहारसुसारमा जुट्छन् । व्यावसायलाई अघि बढाउन बिक्रमलाई सघाउँछिन्, उनकी श्रीमति सुनिता गुरुङ कुमालले पनि । श्रीमान्को काखापोल्टामा रहेर उद्यम गरी मनग्य कमाई हुँदा सुनिता पनि दंग छिन् ।

बंगुरपालनसंगै उनीहरुले साँढे २ रोपनी जग्गामा तरकारी खेती गरेका पनि छन् । मनमा जोस, जाँगर, सीप, क्षमता भए गाउँघरकै माटोमा सुन फलाउन सकिने कुमाल दम्पत्तिको अनुभव छ । र उनको अनुभव अरुकालागि पनि प्रेरणा बन्दै जान थालेको छ ।

LIVE TV