
काठमाण्डौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका बेलामा यो या त्यो गठबन्धनले होइन आम गठबन्धनले मात्र देश समृद्ध बन्ने बताउनुभएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अभियान अन्तर्गत क्षेत्र नम्बर १का विभिन्न कोणसभालाई सम्बोधन गर्दै शर्माले प्रकृतिको अनुपम उपहार पाएको नेपाल राजनीतिक अस्थिरताका कारण समृद्ध हुन नसकेको बताउनुभयो ।
‘हामीले निरन्तर यो देशमा लडाइ ग¥यौ’ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार शर्माले भन्नुभयो,‘कहिले प्रजातन्त्रका लागि लडियो, कहिले पञ्चायतका विरुद्धमा लडियो, कहिले राजतन्त्र अन्त्यका लागि लडियो त कहिले माओवादी दन्द्धकालले देश १० वर्ष युद्धमा पर्यो । अब कहिलेसम्म लड्ने हो ? अब फेरि यो गठबन्धन र त्यो गठबन्धनको नाममा अर्काे लडाइ लड्ने ? सबै जाति र सबै पार्टीलाई हार्दिकताका साथ एक भएर देश निर्माणमा जुट्नुको विकल्प छैन । त्यसका लागि आम नेपालीको गठबन्धन बनाउने बेला आएको छ ।’
‘काङ्ग्रेसको स्टेजमा चढेर एमालेलाई गाली गर्ने, माओवादीको स्टेजमा चढेर काङ्ग्रेसलाई गाली गर्ने, एक दलले अर्काे दललाई गाली गर्ने अनि एक अर्कामा गाली गरेर नै यो देशले कहिले मुहार फेर्ने ?’ शर्माले भन्नुभयो,‘अब गाली गर्न बन्द गर्नु पर्छ । त्यसका लागि राजनीतिक संस्कारको विकास गर्दै सबैले आआफ्नो पार्टीका कमजोरीहरुलाई सुधार गर्दै जानुपर्छ ।’
सम्बोधनका क्रममा विपक्षीलाई समेत सम्मान गरेर सम्बोधन गर्ने शर्माले हामी जुन दलमा भए पनि सबैभन्दा पहिले नेपाली हो । यसकारण नेपालको विकासका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले सबै दल र सबै नेपाली एक भएर काम गर्दा देशको मुहार परिवर्तन हुन समय नलाग्ने बताउनुभयो ।