६ मंसिर २०७४, बुधबार

रिया भण्डारी

काठमाण्डौ । जेनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन सात बर्ष पछि नेपालमा हुने भएको छ । आगामी ९ र १० मंसिरमा काठमाडौँमा हुने सम्मेलनमा देशभरका ४ सय बढी एमडीजीपी र विभिन्न २२ मुलुकका डेढ सय बढी चिकित्सकहरुको सहभागिता हुने जिपानले जनाएको छ ।

नेपालमा सात बर्ष पछि हुन लागेको यो सम्मेलनको उद्घघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजकले बताएका छन् । यस सम्मेलनमा चिकित्सकहरुको अन्तर्राष्ट्रिय संस्था ध्इल्ऋब् का अध्यक्ष प्रा.डा. अमन्दाहोवको समेत सहभागिता रहने छ । सम्मेलनका आयोजक समिति अध्यक्ष प्राडा प्रतावनारायण प्रसादले एमडीजीपीहरुको मुख्य भूमिका रोगहरुको उपचार गर्नु मात्रै नभई यसको विस्तारित सेवा विश्वव्यापी स्वास्थ्यको हेरेबिचार रहेको बताउनुहुन्छ । साथै उहाँले जेनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञको संस्था जिपानले स्वास्थ्य सम्वन्धि विभिन्न संघ संस्थाहरुबीच जोडने काम गरेको भन्दै युनिभर्सल हेल्थ कभरेज मूल नारा सहित यो सम्मेलनको आयोजना गर्न लागेको बताउनुभयो ।

जीपानका अध्यक्ष प्राडा भरतकुमार यादवले नेपालले यसरी अन्तर्राष्ट्रिय चिकित्सकहरुलाइ समेत समेटेर यस्तो सम्मेलन हुनु सकारात्मक रहेको भन्दै दुर्गममा आधारभूत स्वास्थ्य सेवा कसरी विस्तार गर्ने भन्ने बारेमा सम्मेलन केन्द्रित रहने बताउनु भयो ।

एमडीजीपी डा केदार सेन्चुरीले नेपालमा एमडीजीपीको महत्व झन झन बढदै गएको भन्दै सबै जिल्लामा अझै एमडीजीपी पुग्न नसकेको बताए ।

जिपानका माहासचिव तथा सम्मेलनका संयोजक डा सञ्जीव तिवारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जीपीहरुबाट एक आपसमा ज्ञान तथा अनुभव आदान प्रदान गर्ने मौका मिल्ने बताए । स्वदेशी ४०० र अन्य २२ मुलुक १५० चिकित्सकहरुहरुको सहभागिता हुन लागेको यो सम्मेलन पहिलो ठूलो अन्तराष्ट्रिय सम्मेलन हुनेछ ।

 

LIVE TV