५ मंसिर २०७४, मंगलवार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा वाम गठबन्धनका उम्मेदवार चुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् ।

आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित वाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका हुन् । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा सक्रिय छन् ।

नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा घरदैलो र मतदाता भेटघाट गर्नुभएको छ । उपमहासचिव पौडेलसँगै प्रदेशसभा (ख) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ पनि घरदैलो गर्नुभएको छ ।

घरदैलोमा उहाँले मतदातामाझ आफ्ना भावी योजनाका बारेमा अवगत गराउनुभयो । आफू यस क्षेत्रका समस्याबारे जानकार भएकाले आगामी दिनमा समाधानका लागि थप पहल लिने प्रतिबद्धता पौडेलले व्यक्त गर्नुभयो । यस क्षेत्रमा भएको विकास निर्माणको हरेक काममा आफ्नो संलग्नता रहेको भन्दै उहाँले आगामी दिनमा पनि स्थानीयस्तरमा देखिएका हरेक समस्या समाधानको अगुवाइ गर्ने बताउनुभयो ।

त्यस्तै क्षेत्र नं २ को (क) का उम्मेदवार लीला गिरीले आज नै बुटवल उपमहानगरपालिका–११ मा घरदैलो गर्नुभयो । सबैभन्दा धेरै मतदाता रहेको उक्त वडामा आज बिहानैदेखि उहाँले घरदैलो गरी मतदाताका गुनासो सुन्नुभयो । सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था मिलाउन वामपन्थी गठबन्धनलाई बहुमतसहित विजयी गराउनुपर्ने उहाँको आग्रह थियो ।

त्यस अवसरमा मतदातासमक्ष ५ नं प्रदेशकै विकास निर्माण गर्नु, यो क्षेत्रलाई प्रदेशको राजधानी बनाउनु एक मात्र उद्देश्य भएको भन्दै आफ्नो उद्देश्य पूरा गर्न उम्मेदवारहरुले स्थानीय मतदाताको सहयोगको अपेक्षासमेत गर्नुभयो ।

मतदाता भेटघाटका क्रममा एमाले नेता पौडेलले वामपन्थीको घोषणापत्रमा लेखिएका कुरा कार्यान्वयन भए मुलुक आर्थिक रुपले समृद्ध हुने बताउँदै यसका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको बताउनुभयो ।

LIVE TV