५ मंसिर २०७४, मंगलवार

नवलपरासी । प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतलाई जनताको साँँच्चिकै न्याय दिने थलोको रुपमा विकास गर्न समाजको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

नवलपरासी–बर्दघाट सुस्ता पूर्व कावासोतीमा स्थापित नवलपुर जिल्ला अदालतको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो –“अदालतलाई जनताको न्यायको थलो बनाउन आफू लागिपरेको छु ।”

प्रधानन्यायाधीश पराजुलीले अदालत जहिले पनि पीडित, दबिएका, न्यायमा पहुँच नपुगेका व्यक्तिका लागि भएको उल्लेख गर्दै सबैको सहज पहुँच पु¥याएर सर्वसुलभ र छरितो ढंगबाट न्याय दिलाउने काममा न्याय क्षेत्र लागिपरेको बताउनुभयो ।

आफू प्रधानन्यायाधीश भएपछि कार्यविधि नै बनाएर समयमै छिटो न्याय सम्पादनमा ध्यान दिएको बताउँदै उहाँले जनताले पनि न्यायलयको गरिमा कायम राखेर यसको विश्वास बढाउन सहयोग गर्नु आजको आवश्यक रहको छ भन्नुभयो ।

प्रधानन्यायाधीश पराजुलीले नवलपुर सबै जातजाति भेषभूषा धर्म, संस्कृति र सबैको समिश्रण मिलेर बनेको यो जिल्ला आफैँमा ऐतिहासिक रहेको स्मरण गर्दै नवलपुर जिल्ला भनेर यहाँका जनताले नै अनुमोदन गरिसकेकाले न्यायापरिषद्ले समेत नवलपुर जिल्लाका रुपमा किटान गरी अदालतको स्थापना गरेको स्पष्ट पार्नुभयो ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडाँलको अध्यक्षतामा भएको कार्यक्रममा न्याय परिषद्का सदस्य पदम वैदिक, सर्बोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदी ,नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसी, जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, कावासोती नगरपालिकाकी प्रमुख चन्द्र पुन, नवलपुर जिल्ला अदालतका मुख्य न्यायाधीश विदुर कोइराला लगायतका वक्ताले नवलपुरमा जिल्ला अदालत स्थापना भएपछि नवलपुरवासीले सहज र छरितो ढंगले न्याय पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा न्याय क्षेत्रका विज्ञ, राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेसहित नागरिक समाजका अगुवाको सहभागिता थियो । नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्लाको कावासोतीमा ७६ औँ जिल्लाका रुपमा नवलपुर जिल्ला अदालतको स्थापना भएको हो ।

LIVE TV