
- सरिना मरासिनी
रुपन्देही । राजनीतिक दलहरुप्रति आम जनतामा खासै विश्वास देखिदैन । निर्वाचनका क्रममा विश्वास दिलाउन कोशिस गरेपनि विगतका प्रवृत्तिका कारण जनतामा दलहरुप्रति विश्वास नै नरहेको रुपन्देही गुर्वनिया गाउँका स्थानीयले देखाएका छन् । नेताहरुले पटक–पटक धोका दिएको निष्कर्ष उनीहरुको रहेको छ । त्यसैले पनि अहिले नै विश्वास गर्ने आधार नरहेको उनीहरुको तर्क छ ।
यो रुपन्देहीको गुर्वनिया गाउँ हो । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने यो गाउँमा चुनावको रौनक देखिदैन । दलहरुको ध्यान यतातिर नभएको पनि होइन, अथवा निर्वाचन बहिष्कारमा स्थानीय उत्रिएका पनि होइनन् तर कुनै रौनक भने यहाँ देखिदैन । कारण राजनीतिक दलहरुप्रतिको अविश्वास हो । गुर्वनियाका स्थानीयले यसअघि सबै निर्वाचनमा भाग लिएका थिए । तर, पुरानै प्रतिवद्धता नयाँ रुपमा आउने भन्दा फरक केही नभएको उनीहरुको गुनासो छ । निर्वाचन नजिकिन्छ, नेताहरु कहिले पूरा नगर्ने प्रतिवद्धता बोकेर आउँछन् अनि निर्वाचन सकिएपछि कहिले दलका नेताहरुको अनुहारै हेर्न नपाइने तीब्र गुनासो यहाँका स्थानीयमा रहँदै आएको छ ।
उही पूरानै कुरा, कहिले पूरा नहुने । उनीहरुको माग मेट्रो रेल वा विमानस्थल छैन मात्र उनीहरु भन्छन्, सिंचाई सुविधा देउ, सामान्य कृषि सडक बनाउ । तर, दल र उम्मेद्वारहरु ठूला–ठूला सपना बाँड्न तल्लिन भएपनि सामान्य माग कहिले पूरा गर्न सक्दैनन् । रुपन्देहीे कृषीका लागि मुलुककै पकेट क्षेत्र मानिन्छ । सिंचाई अभाव यहाँको ठूलो समस्या हो । हिउँदमा सिंचाई नुहुनु र वर्षामा डुबानको समस्याबाट गुर्वनिया सधै पीडित बन्ने गरेको छ ।
मधेशी बाहुल्य रहेको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, रोजगार लगायतको अभाव रहेको छ । आश्वासन मात्र बाँड्ने नेताहरुप्रतिको यो आक्रोशको परिणाम यहाँका स्थानीय निर्वाचनप्रति नै उदासिन छन् । यसबाट दलहरुले राम्रै पाठ सिक्न जरुरी छ ।