
पृथ्वीमा पानीको मात्र जमिनको भन्दा बढी रहेको र जमिनमा मानिसहरुको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । यस्तोमा अहिले मानिसहरुले नयाँ उपायहरुको खोजी गर्न थालेका छन् । अहिले समुद्रमा एक सहर विस्तार गर्ने योजना अघि सारिएको छ ।
अहिले बनाइएको योजनाअनुसार निर्माण गरिने यो तैरने सहरमा सामान्य सहरहरुमा जस्तै घरहरु, रेष्टुरेन्ट, कार्यालयहरु रहनेछन् । अन्तर्राष्ट्रिय पानीमा राखिने यो तैरने सहर निर्माणको कार्य वास्तविकतामा पुग्ने एक खुड्किलो पार भएको छ । यो योजनाका प्रमुख जोइ क्विर्कले अहिले ल्याइएको योजनाअनुसारको सहरमा विश्वका कुनै पनि सरकारले अधिकार जमाउन नपाउने बताएका छन् ।
अहिले विश्वमा जारी रहेको सरकारहरुको प्रणालीबाट दिक्क भएर समुद्रमा तैरने सहर निर्माण गर्ने योजनामा आफू पुगेको उनले बताएका छन् । यद्यपि अहिले सुरुवातमा भने कुनै न कुनै सरकारको सहायताबाट यो सहरले अस्तित्व पाउने बताइएको छ । सम्भवतः त्यो मुलुक फ्रान्स हुनसक्ने बताइएको छ ।
यो योजना सुरु गर्नका लागि अहिले इन्जिनियर र आर्केटेकहरुले योजना सुरु हुने स्थानको भ्रमण गरिसकेका छन् । यो योजना सकिनको लागि १६ कारोड ७० लाख अमेरिकी डलरबराबरको रकम लाग्ने अनुमान गरिएको छ ।
यो सहरका लागि छुट्टै किसिमको शासन व्यवस्था लागू गरिने बताइएको छ । यद्यपि यस किसिमको योजना यसअघि पनि ल्याइएको थियो तर उक्त योजना सफल भने हुन सकेको थिएन । यो योजनाको विषयमा केही लगानीकर्ताहरुले पनि लगानी गरेका थिए तर अहिले भने उनीहरु यो योजनाबाट बाहिरिने मनसायमा रहेका छन् ।
यो सहर निर्माणको लागि फ्रान्स सरकारसँग पनि सम्झौता भइसकेको छ र यसले आगामी दिनमा सकारात्मक आर्थिक प्रभाव पार्ने विश्वास पनि विश्लेषकहरुले गरेका छन् । योजनाअनुसारको काम अघि बढ्ने हो भने २०१८ को सुरुवातमा पाइलट प्रोजेक्टको विकासको काम सुरु हुनेछ ।