५ मंसिर २०७४, मंगलवार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनले पाँच वर्षमा ओखलढुंगाको समृद्धिका योजना प्रतिबद्धता पत्रबाट सार्वजनिक गरेको छ । गठबन्धन (नेकपा (एमाले र नेकपा माओवादी केन्द्र) तर्फका प्रतिनिधिसभाको उम्मेदवार यज्ञराज सुनुवार, प्रदेशसभा (क) अमिरबाबु गुरुङ र प्रदेशसभा (ख) मोहनकुमार खड्का हिमशिखर छन् ।

उनीहरुको संयुक्त चुनावी प्रतिवद्धतामा उद्योग तथा विजुली तर्फ आगामी पाँच वर्षमा प्रत्येक स्थानीय निकायमा न्यूनतम् एक उद्योगग्राम विकास गरी खिजीदेम्बा गाउँपालिकाभित्र व्यवस्थित रुपमा नेपाली कागज उद्योग स्थापना गरी त्यसको निकासी तथा पैठारीको व्यवस्था गर्ने उल्लेख छ । लागनीकर्तालाई आकर्षित गर्न आगामी पाँच वर्षसम्म विद्युत, खानेपानी तथा करमा विशेष छुट दिने र स्थानीय तहलाई नै उद्योगसम्बन्धी नीति बनाई एक वार्ड एक उत्पादनको अवधारणा लागु गरिने उल्लेख छ ।

आगामी ५ वर्षभित्र जिल्लालाई उर्जाको आत्मनिभएर बनाउन विद्युत उर्जा विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने घोषणा गरेको छ । सबै स्थानीय तहका वडादेखि केन्द्रउसम्म राष्ट्रिय प्रशारण लाईनको विस्तार गर्ने र ग्रामीण विद्युतीकरण नभएको स्थानीय तहमा सबै वडामा आगामी तीन वर्षभित्र विद्युत सेवा उपलब्ध गराई जिल्लालाई लोडसेडिङमुक्त बनाउने उल्लेख गरेको छ भने गरिबीको रेखामुनि रहेका परिवारको पहिचान गरी विशेष सहुलियत दिइने घोषणा छ ।

वाम गठबन्धनले शिक्षा क्षेत्रमा प्रत्येक गाउँपालिका र नगरपालिकामा गुणस्तरीय र अनिवार्य शिक्षाका लागि आफ्नो कूल बजेटको १५ प्रतिशत शिक्षामा लगानी गर्ने योजना कार्यान्वयन गर्ने योजना सार्वजनिक गरेका छन् । साथै, विद्यालय टाढा भएका विपन्न असहाय र अशक्त विद्यार्थीहरुका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तीमा एउटा आवासीय विद्यालय सञ्चालन गर्ने र प्राथमिक तहमा मात्रृभाषा शिक्षा दिईने प्रबन्ध मिलाइने योजना अघि सारेका छन् ।

अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चित गर्न गुरुकुल, विहार, गुम्बा, खुल्ला एवम् वैकल्पिक शिक्षा कार्यक्रमलाई पाँच वर्षमा राष्ट्यि शिक्षा प्रणालीसँग आवद्ध गरिने व्यवस्था मिलाउने योजना छ । स्वास्थ्य क्षेत्रमा प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमा १५ तथा नगरपालिकाको केन्द्रमा ५० शैयाको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ । साथै, सबै स्वास्थ संस्थाहरुमा पोषण कार्यक्रम सञ्चालन गरी कुपोषित बालबालिका तथा गर्भवती महिलालाई नियमित पोषण भत्ताको व्यवस्था गर्ने नीति ल्याईने जनताबीच प्रतिवद्धता जनाएको छ ।

वामगठबन्धले पुननिर्माणमा स्थानीय तहका सबै संरचना प्राकृतिक जोखिमबाट सुरक्षित र अपांगमैत्री बनाईने तथा भूकम्पबाट घर भत्किएर पनि तथ्यांकमा छुटेकालाई एकवर्षभित्र अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । जिल्लाभित्र पर्यटन तर्फ सांस्कृतिक पहिचान बोकेका समुदायको मौलिक संस्कृति अक्षुण राख्न नीति व्यवस्था गर्ने र ओखलढुंगाको समग्र समृद्धि र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको छ ।

त्यसमा कोटगढी, ककनी, सेप्ली, लिब्जु, चाँगेस्थान, नर्मदेश्वर महादेव, मोलि, चुलि, देम्वा, चम्पादेवी, गणेश कुुण्डजस्ता ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका स्थलको संरक्षण गर्दै पूर्वाधारहरुको विकास गरी पर्यटकलाई आकर्षित गर्ने रहेको छ । त्यसैगरी, प्राकृतिक सौन्दर्यले भरिपूर्ण देम्बा, लगलगे, थामडाँडा, कोषभञ्ज्याङ, मालिङ्गे डाँडा, माथिल्लो मैदाने, तीनतले, चुलिलगायतका स्थानमा आगामी पाँचवर्षभित्र आवश्यकताअनुसार भ्यु टावर निर्माणमा पहल गर्ने योजना छ ।

तीन तले– जलजले, जयरामघाट–पत्ताले र चुलीङ–सिरिषे, खोटाङ हलेशी–निशंखे पत्तालेजस्ता स्थलहरुमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन गर्ने र सुनकोशी, दुधकोशी र लिखुमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालनका लागि व्यवस्था मिलाउने प्रतिवद्धता छ । वामगठबन्धनले खेलकुदको विकासका लागि मानेभञ्ज्याङ, च्यानम, ठुलाछाप र गाम्नाङगटारमा रहेको खेलकुद मैदानलाई स्तरीकृत गरी क्षेत्रीयस्तरको खेलकुद मैदानका रुपमा विकास गर्ने जनाएको छ ।

गठबन्धनले स्थानीय सञ्चारमाध्यममा लैंगिक समानता, श्रमजीवी सञ्चारकर्मीको पेशगात सुरक्षा, वृत्तिविकास र निवृत्तिभरणको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । साथै, कोटगढी क्षेत्र, लगलगे, देम्बाक्षेत्र, कोषभञ्ज्याङ, पलापुलगायतका स्थानहरुमा आवश्यकताअनुसार टेलिफोन टावरहरु निर्माण गर्न पहल गर्ने उल्लेख गरेको छ ।

गठबन्धले यातायातलाई प्रत्येक स्थानीय तहका वडामा चारवर्षभित्र सडक सञ्जाल विस्तार गर्ने । प्रत्येक गाउँपालिका र नगरपालिका जोडिने सडक १० वर्षभित्र कालोपत्रे गर्ने योजना अघि सारेको छ । रुम्जाटार बिमानस्थललाई थप विस्तार गरी जोड्न पहल गर्ने । सिद्धिचरण नगरपालिकाभित्र आगामी दुईवर्षमा व्यवस्थित वसपार्क निर्माण गर्ने जनाएको छ ।

स्तरीय पशु बधशाला निर्माण गरी प्रशोधित मासु अनुमति प्राप्त वधशालाबाट मात्र विक्री गरिने, प्रत्येक गाउँपालिकामा कृषि बजार एकीकृत सेवा केन्द्र र सरकारबाट मान्यता प्राप्त कृषि तालिम केन्द्र स्थापना गरी जिल्लालाई जनमुखी, प्रभावकारी र भ्रष्टाचाररहित बनाउने प्रतिवद्धता पत्रमा उल्लेख छ । प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारले वाम गठबन्धनले तयार पारेको प्रतिवद्धतापत्र पाँच वर्षमा पुरा गर्ने घोषणा गर्दै तीनदेखि पाँचवर्षमा ओखलढुंगाको विकासमा आमुल परिर्वतन गर्ने आफ्नो योजना भएको बताए ।

विभिन्न पार्टीहरुका घोषणा पत्र जिल्लाबाट सार्वजनिक भएपछि बौद्धिक वर्गले विभिन्न कोणबाट टिप्पणी गर्न थालेका छन् ।

कांग्रेसको घोषणा सार्वजनिक

कांग्रेसले पनि चुनावी घोषणा सार्वजनिक गरेको छ । कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा, प्रदेशसभा (क) का उम्मेदवार मित्रसेन दाहाल र प्रदेशसभा (ख) का उम्मेदवार प्रदीपकुमार सुनुवारको प्रतिबद्धतापत्रमा पाँच वर्ष्भित्र हरेक वडामा स्थानीय आवश्यकतानुसार एक परियोजना सञ्चालन गर्ने योजना बनाइएको छ ।

त्यस्तै सम्भाव्यता अध्ययन गरी स्थानीयस्तरमा ‘एक पालिका एक उद्योग’, ‘एक गाउँ एक उद्यम’ सञ्चालन गरिने उल्लेख छ । उम्मेदवारले गुणस्तरीय र रोजगारमूलक शिक्षाका लागि नगरपालिका तथा गाउँपालिकामा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने योजना तय गरेका छन् ।
साथै एक विद्यालय एक पुस्तकालय अभियानअन्तर्गत इ–लाइब्रेरीसहित विद्यालय पुस्तकालयलाई व्यवस्थित र पठनीय बनाइने योजना अघि सारिएको छ ।कांग्रेसले प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न न्यूनतम १५ शय्याको अस्पताल स्थापना गर्ने र हरेक वडामा एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

कांग्रेसले आफ्नो प्रतिबद्धतापत्रमा घर घरमा विद्युत् आपूर्तिका लागि ग्रामीण विद्युतीकरण र वैकल्पिक ऊर्जाको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले भूकम्पपीडितलाई भवन निर्माण तथा राहतमा सहयोग गर्ने वचन दिएको छ । पर्यटन तथा धर्म संस्कृतिको विकास गरी पर्यटकीय गन्तव्य बनाउन काँग्रेसले बृहत् हलेसी परिपथ निर्माण गरी धार्मिकस्थल नर्मदेश्वर महादेव, ककनी चम्पादेवी, दूधकुण्ड, लिब्जु, हलेसी आदिको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारेको छ ।

त्यस्तै प्रत्येक वडामा कम्तीमा एक खेलकुद प्रशिक्षक र एक खेल मैदान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्चारको विकासमा काँग्रेसले गाउँगाउँमा वाइफाईको सुविधा पुर्याउने जनाएको छ । प्रतिनिधिसभाका अर्का उम्मेदवार रामहरि खतिवडाले जिल्लाको समग्र विकासका लागि प्रतिबद्धतापत्र बनाएको र आफूले चुनाव जितेमा सोहीअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ओखलढुङगामा सुनुवार कि खतिवडा ? के भन्छन् मतदाता

रामहरि श्रेष्ठ,मंसिर ५, ओखलढुङगा– आगामी मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मिति संघारमा आएसँगै ओखलढुंगामा चुनावी माहोल ह्वातै बढेको छ । उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावीसभा र मतदाताको घरदैलोमा पुगेर भोट माग्न ब्यस्त छन् । खेती उठाउने समय भएकाले अधिकांश मतदता खेतवारीमै हुने भएकाले नेताहरु पनि घरदैलोमा मतदता नभेटिएपछि खेतबारीमै पुगेर आत्मियता देखाउदै भोट मागिरहेका छन् ।

सबै उम्मेदवारले जिल्लाको समृद्धिका लागि आफूलाई जिताउन मतदतासँग आग्रह गरिरहेका छन् । संघीय प्रतिनिधि सभाका उम्मेदवारहरु जिल्लाभर नै चुनाबी कार्यक्रम लिएर घुमिरहेका छन् भने प्रदेशसभाका उम्मेद्धवार पनि आ–आफ्नो क्षेत्रका मतदासँग भोट मागिरहेका छन् । तर, जिल्लाका मतदाता भने आश्वासन बाँड्ने नेताबाट अघाएको भन्दै काम गरेर देखाउनेलाई मात्र भोट दिने मनस्थिति बनाएका छन् ।

सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका सरस्वती बानियाँ कुरा गर्ने भन्दा काम गरेर देखाउनेलाई भोट हाल्ने बताउँछिन् । ‘यसअघि कुराले मख्ख पारेर भोट माग्ने नेताहरुलाई यो पटक कामै गरेर देखाउनुपर्ने चुनौती थपिएको छ’ उनले भनिन् । बानियाँको जस्तै भनाई छ अर्का मतदाता सिद्धिचरणकै बुद्धि खड्काको पनि ।

‘आफुले भोट हालेर जिताएका नेताले भष्ट्राचार नगरी जनताको सेवामा लागे भोट खेर गएको महशुस हुदैनथियो’उनले भने । ‘सत्ता र स्वार्थको लोभमा भन्दा पनि जिल्लाको बिकासमा जो लाग्छ उसैलाई भोट हाल्ने हो’ सिनपा ९ का शुक्रबहादुर मग्राती बताउँछन् ।

उनिहरु त प्रतिनिधि पात्र मात्र हुन् । यसअघिका निर्वाचन, उम्मेद्धवारको आश्वासन र उनिहरुले गरेका कामका आधारमा मत दिने उनिहरुको भनाइबाट मतदाताहरु सजग भैसकेको प्रश्ट हुन्छ । ओखलढुङगाका सर्वसाधारण मतदाता यसैलाई भोट दिन्छौ भनेर खुल्न चाहेनन् । सवैको कुटनीतिक हिसावको भनाई थियो ‘कुराले मख्ख पार्ने नेतालाई भन्दा काम गर्ने नेतालाई भोट हाल्ने पक्का हो ।’

प्रतिनिधिसभातर्फ १ क्षेत्र र प्रदेशतर्फ २ निर्वाचन क्षेत्र रहेको ओखलढुङगामा बाम गठबन्धनका तर्फबाट संघतर्फ यज्ञराज सुनुवार र कांग्रेसका तर्फबाट रामहरी खतिवडा उम्मेदवार बनेका छन् । त्यस्तै प्रदेशतर्फ क मा बामबाट अम्मिरबाबु गुरुङ, कांग्रेसबाट मित्रसेन दाहाल, तथा ख मा बामबाट माओवादीका मोहन खड्का कांग्रेसबाट प्रदिप सुनुवार र तथा स्वतन्त्रबाट ज्ञानेन्द्र रुम्दाली प्रतिस्पर्धामा रहेका छन् ।

सुनुवार र खतिवडाको चर्चा धेरै

मतदान मिति नजिकिएसँगै संघीय प्रतिनिधि सभाका उम्मेद्धवारहरु बाम गठबन्धनका सुनुवार र काग्रेसका खतिवडाको चर्चा बढि छ । उनिहरु दुबैले मतदाता आफ्नो पक्षमा पार्न भाषणमार्फत एकले अर्काेको खेदो खन्ने गरेका छन् । शहर होस या गाउँ र चोकका चियाचौतारासम्ममा स्थानीय तहको मत परिणमलाई आकलन गर्दै कस्ले जित्लान् भन्ने अड्कलबाजी हुन थालेको छ । जिल्लामा हाईटमा रहेका दुई नेताहरु एक अर्काेको प्रतिश्पर्धी भएर चुनाबी मैदानमा उत्रिएकाले यस पटकको चुनाव निकै रोचक बनेको छ । यसअघि दुई क्षेत्रबाट चुनाव जितेका दुवै अहिले एक क्षेत्र भएपछि आमनेसामने भएका हुन् ।

ओझेलमा प्रदेशसभाका उम्मेदवार

निर्वाचनमा प्रदेशसभा तर्फका उम्मेद्धवारहरु पनि मत माग्ने दौडधुपमा छन् । मतदाता आफ्नो पक्षमा पार्न उनिहरुको दौडधुप बढेको हो । ओखलढुंगाको प्रदेशसभा क तर्फ बाम गठबन्धनका तर्फबाट एमालेका अम्मिरबाबु गुरुङ र काग्रेसबाट मित्रसेन दाहाल प्रतिश्पर्धामा छन् । उनिहरुमध्ये बाम गठबन्धनका उम्मेद्धवर गुरुङको चर्चा धेरै छ । त्यस्तै क्षेत्र नम्बर ख तर्फभने बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मोहन खड्का हिमशिखर र काग्रेसका तर्फबाट जिल्ला सभापती प्रदिप कुमार सुनुवार प्रतिश्पर्धामा छन् ।

यहि क्षेत्रमा काग्रेसबाट बागी उम्मेद्धवारी दिएका स्वतन्त्र उम्मेद्धवार ज्ञनेन्द्र रुम्दाली पनि सफा अभियान लिएर चुनावी मैदानमा छन् । प्रदेश ख मा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । एक स्वतन्त्र सहित ९ राजनीतिक दल चुनाबी मैदान छन् । १ सय ४१ मतदान केन्द्र रहेको ओखलढुंगामा १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् ।

LIVE TV