५ मंसिर २०७४, मंगलवार

हरिकृष्ण गौतम

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न विकास निर्माणसहित राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै म्याग्दीमा १० उजुरी परेको छ । आफ्नो पक्षमा मतदातालाई आर्कषित गर्न मंगला र रघुगंगा गाउँपालिका, विद्यतु प्राधिकरणलाई उजुरी परेको छ ।

मंगला गाउँपालिकाले प्रदेशसभा ‘ख’ की उम्मेदवार नरदेवी पुनलाई आफ्नै गाउँ मंगला गाउँपालिका–१ कुहुँमा डोजरको प्रयोग सडक विस्तार गरेको उजुरी परेको हो । त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार खम्बीर गर्बुजा र प्रदेशसभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा मत बटुल्न रघुगंगा गाउँपालिकाले डोजरको प्रयोग गरी आचारसंहित उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत राजु ढुंगानाले बताउनुभयो ।

आचारसंहिता अनुगमन अधिकृत छविन्द्र बेलबासेको नेतृत्वमा उजुरी परेकाहरुको अनुसन्धान भइरहेको छ । दुवै गाउँपालिकाले सडक निर्माणको बजेट,लागत अनुमान, कार्यदेश, गाउँपालिकाको योजनालाई पेश गरेको छ । गाउँपालिका संगै प्रचारप्रसारमा प्रयोग गरिएका सामग्री, राजनीतिक गतिविधिमा सक्रिय रहेका शिक्षकका नाम सहित उजुरी परेको छ ।

त्यस्तै बेनी नगरपालिका–९ घतानमा विद्युतको पोल फेर्न प्रयास गरिएको भन्दै उजुरी परेपछि विद्युत प्राधिकरणबाट समेत लिखित जवाफ मागिएको छ । जिल्लामा क्रियाशील राजनीतिक दलले एकअर्कालाई आरोप–प्रत्यारोप सहित उजुरीमा उत्रिएका छन् । लोकतान्त्रिक र बाम गठबन्धनले आफ्नो शिक्षक संगठनमा आवद्ध भएका शिक्षकको राजनीतिक आवारण लुकाउन एकले अर्कोलाई उजुरी गरिरहेका छन् ।

LIVE TV