५ मंसिर २०७४, मंगलवार

प्रतिनिधिसभा र प्रदेशसभा पहिलो चरणको चुनाव आउन पाँच दिन मात्र बाँकी हुँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी भएको छ । चुनावको समय नजिकिँदै गर्दा बजार क्षेत्रमा नक्कली नोट पाइएको हो ।

म्याग्दीस्थित विभिन्न बैंक एवं वित्तीय संघसंस्था, विद्यालय, सहकारी र किराना पसलमा नक्कली नोट भेटिँदा सर्वसाधारण समस्यामा परेका छन् । गएको शुक्रबार सदरमुकामस्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थामा (च २५) ४३६१३३ नम्बरको एक हजार रुपैयाँको नक्कली नोट भेटिएको थियो । आइतबार बेनीको दिदीबहिनी सहकारी र सोमबार गरिमा विकास बैंक, प्रकाश मावि र बेनीको एक किराना पसलमा उस्तै प्रकृतिको एक हजार रुपैयाँ दरको नक्कली नोट भेटिएको छ ।

यसअघि गएको वैशाखमा सम्पन्न स्थानीय तहको चुनावको समयमा पनि बेनी अस्पतालको फार्मेसी र दिदीबहिनी सहकारीमा पाँचसय रुपैयाँको नक्कली नोट भेटिएको थियो । बजारमा नक्कली नोट भेटिन थालेपछि सर्वसाधारणलाई आर्थिक कारोबार गर्न समस्या भैरहेको छ भने त्राससमेत फैलिएको छ ।

म्याग्दीमा बेलाबेलामा नक्कली नोटसम्बन्धी घटना दोहोरिने गरेको हुँदा सर्वसाधारण सबै सचेत रहनुपर्ने गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार नोटलाई राम्ररी हेर्न हो भने नक्कलीमा लालीगुरासँको तस्बिर, नेपाल राष्ट्र बैंकको छोटकरी रुप एनआरबी देखिँदैन भने कतिपय अवस्थामा नोट छामेर पनि पहिचान गर्न सकिन्छ ।

नेकपा एमालेनिकट युवा संघ र माओवादी केन्द्रनिकट वाईसीएलले सोमबार पत्रकार भेटघाट गरी नक्कली नोटको बिगबिगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वाईसीएलका जिल्ला अध्यक्ष कुमार थापाले चुनावमा सिधासाधा जनतालाई प्रभावमा पार्नेहरुले नक्कली नोटको प्रयोग गरेको हुनसक्ने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ । चुनाव नजिकिँदै गर्दा नक्कली नोट भेटिन थालेपछि यसलाई निकै चासोका साथ हेरिएको छ ।

LIVE TV