
नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले निर्वाचन हार्दा देश नै हार्ने बताएका छन्। बागलुङको गल्कोटमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस चुनाव हार्न तयार रहेको तर देशले हार्ने अवस्था आउन नहुने बताए।
‘देश गम्भीर संकटमा जाने स्थीति आउँदा नेपाली कांग्रेसले आफुले हारेर पनि देशलाई बचाएको छ,’ थापाले भने,‘अहिले पनि देश हार्ने अवस्थामा छ। त्यसैले अहिले नेपाली कांग्रेसले हारेर भएपनि देश बचाउछ ।’ विगतमा पनि कांग्रेसले देशका लागि हार स्वीकार गरेको उनले बताए।
‘२०६४ सालमा हामीले निर्वाचन हार्दैछौं भन्ने थाहा थियो, गिरीजाबाबुले कांग्रेस हार्दा हार्दै पनि निर्वाचन गराउने फैसला गर्नुभयो, त्यतीखेर देशलाई बचाउनुपर्ने थियो,’ उनले भने,‘२०३३ सालमा वीपी कोईरालाले राष्ट्रियताका लागि आफ्नो ज्यानको बाजी लगाएर मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । नेपाली कांग्रेसले जहिले पनि देशलाई अप्ठ्यारो पर्दा आफुले हारेरै भए पनि देशलाई बचाएको छ।’
थापाले देशको तीव्र आर्थिक वृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व गर्ने बताए। ‘केही वर्ष पहिलेसम्म हामीसंगै मुलुक अहिले तीव्र गतिमा आर्थिक वृद्धि हाँहिल गरिरहेका छन्,’ थापाले भने,‘हामीलाई पनि अब कुनै बहाना बनाउने छुट छैन । राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले अब आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ।’