
काठमाण्डौ । पहिले सामाजिक सञ्जालमा त्यति सक्रिय नहुने नेताहरु चुनावको माहोलबढेसंगै सामाजिक संजालमा निकै नै सक्रिय हुन् थालेका छन् ।
ललितपुर क्षेत्र नं ३ बाट कम्युनिष्ट गठबन्धनबाट प्रतिनिधिसभा उमेदवार बनेकी माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल आजभोलि आफ्ना बारेमा आएका समाचार दैनिक आफ्नो फेसबुक पेजमा सेयर गर्छिन् । उनले फेसबुक मात्रै होइन आफ्ना गतिविधि ‘पर्सनल’ वेबसाइटमार्फत पनि पोस्ट गर्छिन् ।
काठमाडौं क्षेत्र नं १ बाट उमेदवार बनेका पूर्व पत्रकार तथा विवेकशील साझा पार्टीका उमेदवार रवीन्द्र मिश्रले फेसबुक पेज, ट्विटर, पार्टीको वेबसाइटमार्फत आफ्ना दैनिक चुनावी कार्यक्रम तथा घरदैलोलाई व्यवस्थित रुपमै सामाजिक सञ्जालमा फैलाएका छन् ।
यसअघिको निर्वाचनमा डा. बाबुराम भट्टराई, गगन थापा, रवीन्द्र अधिकारी लगायतका केही सीमित नेताले मात्रै सामाजिक सञ्जाललाई चुनावी प्रचार तथा गतिविधि पोस्ट गर्ने साध्यका रुपमा प्रयोग गरेका थिए ।
तर, यो चुनावमा सबैजसो प्रतिनिधि सभा तथा प्रदेश सभा उमेदवारले सामाजिक सञ्जाल र मिडियालाई प्रचारको साधनका रुपमा प्रयोग गरेका छन् । मुख्य शहरभन्दा बाहिरका उमेदवारले पनि आफ्नो उपस्थिति देखाउन सामाजिक सञ्जाललाई प्रयोग मात्र गरेका छैनन् पैसा तिरेर ‘स्पोन्सर’ गर्ने फेसन जस्तै बनाएका छन् ।
विशेषगरी शहरी क्षेत्रका उमेदवारले सडक, पेटी र भित्तामा पोष्टर टास्ने भन्दा फेसबुक, ट्विटर, एसएमएस र मिडियालाई भोट माग्ने मुख्य माध्यम बनाएका छन् ।
यसअघि चुनावमा पार्टीका झण्डा, पोस्टर, फ्लेक्स, ब्यानर, पर्चा आदी यत्रतत्र छरिने गरेको भए पनि सहरी क्षेत्रका उमेदवारले भने कम गरेका छन् । त्यस्तै चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, पछ्यौराको प्रयोग पनि त्यतिकै मात्रामा हुँदै आएको थियो ।
यस्तै, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका मुख्य शहरमा प्रचार शैलीमा परिवर्तन देखिएको हो ।
काठमाडौं बाहिर भने पर्चा, झण्डा, पम्पलेट, फ्लेक्सको ब्यापक प्रयोग भएको छ । काठमाडौं बाहिर भने शीर्ष नेताकै क्षेत्रमा आचारसंहिता उल्लंघन हुने गरी पर्चा पम्प्लेट टाँसिएको छ ।