५ मंसिर २०७४, मंगलवार

एमालेले आचारसंहिता उल्लंघनका घटप्रति गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कांग्रेसले सत्ताको निरन्तर दुरुपयोग गर्दै आचारसंहिता उल्लघंन गरेको उसको आरोप छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले आचारसंहिता उल्लंघन तत्काल रोक्न आयोगको ध्यानाकर्षण गरायो । आचारसंहिता उल्लंघनका घटनामा आयोग यसरी नै मौन बसिरहे एमालेले पनि उल्लंघन गर्ने चेतावनी दिएको छ ।

पोलिटब्युरो सदस्य अग्नि खरेल नेतृत्वको एमाले टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलगायत पदाधिकारीलाई भेटी आचारसंहिता उल्लंघनका घटनाहरूको फेहरिस्त प्रस्तुत गरे । उनले उल्लंघनका घटनामा तत्काल रोक लगाउन ध्यानाकर्षण गराए ।

‘अहिले सत्ताको आडमा कांग्रेसले जताततै आचारसंहिता उल्लंघन गरिरहेको छ तर निर्वाचन आयोगले के गरिरहेको छ ? प्रमुख आयुक्त यादवलाई गरिएको ध्यानाकर्षण उद्धृत गर्दै एमालेको निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने, ‘कांग्रेसले गरिरहेको आचारसंहिता उल्लंघन तत्काल रोक्नुस्, यदि रोक्न सक्नुहुन्न भने अरू जस्तै हामीलाई पनि प्रचार गर्ने छुट दिनुस् ।’

सो ध्यानाकर्षणपछि प्रमुख आयुक्त यादवले उल्लंघन रोक्न आयोगले तत्काल सरकार र सम्बन्धित सञ्चारमाध्यमसँग कुराकानी गर्ने जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा उनले आचारसंहिता उल्लंघनका थुप्रै घटनाको तथ्यसहित आयोगलाई अवगत गराएको बताए । नयाँ पत्रिकाबाट

LIVE TV