
- छविलाल बगाले,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले बुढीगण्डकी निर्माणको जिम्मा गेजुवालाई नै दिने बताउनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्णय उल्ट्याउने भन्दै उहाँको उद्घोष छ ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको चुनावी घोषणापत्रमा आर्थिक एजेण्डाबारेको कार्यक्रममा अध्यक्ष ओलीले चुनावपछि वाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारले देउवा सरकारको निर्णय उल्ट्यार बुढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई नै दिने बताउनुभएको छ । यसअघिको सरकारले बुढीगण्डकी निर्माणको जिम्मा कुन प्रक्रियाबाट कसरी दियो त्यो मतलब नभएको भन्दै अध्यक्ष ओलीले चुनावी सरकारले जुनरुपमा विदेशीसँगको कुटनीतिलाई असर पर्नेगरी बुढीगण्डकीको सम्झौता खारेज गर्यो त्यो गैरकानुनी रहेको बताउनुभएको छ ।
सोही कार्यक्रममा पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता रामशरण महतले बिना प्रतिष्पर्धा विवादास्पद कम्पनीलाई दिएकोले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना खारेज भएको बताउनुभयो । उहाँले प्रतिस्पर्धाको आधारमा जुनसुकै कम्पनीलाई पनि निर्माणको जिम्मा दिए हुन्छ भन्दै वद्नाम चाइनिज कम्पनीलाई दिइएकोले सम्झौता खारेज गरिएको बताउनुभयो ।
जलाशययुक्त बुढीगण्डकी आयोजना अब लगानी बोर्डमार्फत अगाडि बढाइने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले चीनको गेजुवा कम्पनीलाई बुढीगण्डकी जिम्मा दिदा स्वयं नेपाली काँग्रेस पनि दाहाल सरकारमा सामेल थियो । तर त्यससमयमा विरोध नगर्ने काँग्रेसले माओवादी केन्द्रसंगको सहकार्य टुटेपछि प्रतिशोधस्वरुप यो निर्णय लिएको सर्वत्र चर्चा छ । राष्ट्रिय गौरवका आयोजनाहरुलाई राष्ट्रहितमा प्रयोग गर्ने भन्दा पनि दलीय नाफाघाटामा जोडेर निर्णय गर्ने प्रवृतिबाट भने कुनै दल पनि अछुतो छैनन् ।