
- बसन्त खतिवडा
पर्सा । मुलुककै आर्थिक केन्द्रका रुपमा परिचित पर्साको वीरगञ्जमा यतिवेला चुनावी रौनकले छपक्कै छोपेको छ । आर्थिक केन्द्र भएरै होला, पर्साका अधिकांश उम्मेद्वार धनाढ्य रहेका छन् । अधिकांश उम्मेद्वार धनाढ्य रहेपछि निर्वाचनमा पनि आर्थिक चलखेल राम्रै हुने आंकलन छ । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलहरु आर्थिक सम्पन्नता भएकालाई उम्मेद्वार छान्न प्रतिष्पर्धामा नै उत्रिएको देखिएको छ ।
पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षतर्फ एक सय ६७ उम्मेदवार प्रतिष्पर्धामा छन । त्यसमध्ये कांग्रेस, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालको गठबन्धन तथा एमाले–माओवादी गठबन्धनका गरी ३६ जना छन् । यी तीनवटै दलले उठाएका अधिकांश उम्मेदवार धनाढ्य नै रहेका छन् । प्रतिनिधिसभाको पर्सा क्षेत्र नम्बर १ मा कांग्रेसले उद्योगपति एवं निवर्तमान सांसद अनिल रुँगटालाई प्रतिष्पर्धामा उतारेको छ ।
रुँगटाको वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका थुप्रै उद्योगमा साझेदारी छ । सोही क्षेत्रमा राजपा र फोरम नेपालका साझा उम्मेदवार आर्थिकरुपमा सबल प्रदीप यादवलाई उठाएको छ । वाम गठबन्धनबाट क्षेत्र १ मा एमालेका निवर्तमान सांसद विचारी यादव प्रतिष्पर्धामा छन् । उनी पनि वीरगञ्जको धनाढ्यमै पर्छन ।
क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट केन्द्रीय सदस्य एवं पूर्वसभासद् अजय चौरसिया, राजपा र फोरम नेपालको गठबन्धनबाट वीरगन्जका पूर्वमेयर विमल श्रीवास्तव र वाम गठबन्धनबाट माओवादी केन्द्रका मुजालिम मियाँ उम्मेदवार छन् । राप्रपा, तमलोपा, राजपा, लोकतान्त्रिक फोरम हुँदै मनोनयनको एक साताअघि मात्र फोरम प्रवेश गरेका श्रीवास्तव पनि खर्च गर्न पछि नपर्ने उम्मेदवार हुन । क्षेत्र नम्बर ३ मा कांग्रेसका सुरेन्द्र चौधरी, वाम गठबन्धनबाट एमालेका राजकुमार गुप्ता र राजपा–फोरमका हरिनारायण रौनियार मैदानमा छन । निवर्तमान सांसद चौधरी पूर्वमन्त्री पनि हुन ।
पुख्र्यौली सम्पत्ति राम्रै भएका कारण उनलाई पनि पैसावाल उम्मेदवारका रूपमा हेरिएको छ । यसै क्षेत्रमा राजपा–फोरमका उम्मेदवार हरिनारायण रौनियार मुलुकमै नाम चलेका निर्माण व्यवसायी हुन । पप्पु कन्स्ट्रक्सन प्रालिका सञ्चालक रौनियार आर्थिक हिसाबले कांग्रेसका चौधरी र वाम गठबन्धनका गुप्ताभन्दा बढी सबल छन ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजाल, वाम गठबन्धनले माओवादी केन्द्रकी केन्द्रीय सचिवालय सदस्य उर्मिला अर्याल र राजपा–फोरम गठबन्धनले राजपाका केन्द्रीय उपाध्यक्ष लक्ष्मणलाल कर्णलाई उठाएका छन् । समाजलाई नैतिकवान बनाउन नसकिउन्जेल पैसाकै बलमा चुनाव चित्ने परिपाटी देखिएको भन्दै कानूनबाटै यस्ता विकृति रोकिनु पर्ने बताउँछन अधिवक्ता दामोदार पौडेल ।
प्रदेश सदस्यमा पनि धनाढ्यहरुकै बर्चश्व रहेको छ । वाम गठबन्धनबाट गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारी, राजपा–फोरमबाट जन्नत अन्सारी, कांग्रेसका विजय सर्राफ जस्ता उम्मेद्वारहरु पनि धनाढ्यकै सूचीमा छन् । पछिल्लो समय मतदाताको मन जित्ने भन्दा पनि धनको आडमा टिकट पाउँने प्रवृत्तिले चुनावलाई निष्कलंक हुनबाट टाढा राख्ने बुद्धिजिविहरुको मत छ ।