
काठमाडौं । नेपालमा निमोनियालगायतका छातीको संक्रमणले बालमृत्युदरको सबभन्दा बढी हिस्सा ओगटेको छ । पछिल्लो समय जाडो बढेसंगै अस्पतालहरुमा बिरामी बालबालिकाको चाप पनि बढेको छ । जाडो मौसममा बालबालिकाहरुको स्वास्थ्यको बिशेष ख्याल राख्न सकिएन भने उनीहरुको स्वास्थ्य जोखिममा रहने बालरोग विशेषज्ञहरुको सुभाव छ ।
हुर्कदै गरेका बालबालिकाहरूका लागि जाडोको मौसम बढी कष्टकर हुने गर्दछ । त्यसैले जाडो मौसममा बालबालिकाको स्वास्थ्यमा अलि बढी हेरविचार गर्नु पर्ने बालरोग विशेषज्ञको सुझाव छ । श्वासप्रश्वास रुघाखोकी र झाडापखाला जस्ता समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्यामा वृद्धि भएपछि बालबालिकाको स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।
जाडो मौसममा रुघाखोकी, निमोनिया,दम, ब्रोंकाइटिस,चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया आदिले बालबालिकालाई एकदम छिटो असर गर्दछ ! बालबालिकालाई घरमै राम्ररी हेरचाह गरेमा साथै खोपको मात्रा पूरा गरेमा पनि श्वासप्रश्वासमा हुने समस्याबाट जोगाउन सकिने चिकित्सकहरु बताउँछन् ।
रुघाखोकीबाट जोगाउन ६ महिना पूरा भैसकेका बालबालिकालाई इन्फ्लुएन्जा भ्याक्सिन, निमोनियाबाट जोगाउन निमोकोकल भ्याक्सिन लगाउन सकिनेछ । नेपालमा निमोनियाका कारण हरेक वर्ष पाँच वर्ष मुनिका ५ हजार ६ सय बालबालिकाको ज्यान जाने गरेको छ । सन् २०११ को तथ्यांक अनुसार हुने कुल बाल मृत्यु मध्ये १६ प्रतिशत निमोनिया र ११ प्रतिशत झाडापखालाबाट हुने गरेको छ ।