
- श्यामशीतल परियार
लमजुङ । प्रतिनिधि र प्रदेश सभाको पहिलो चरणमा मंसिर १० गते हुन लागेको निर्वाचनले देशभर जस्तै लमजुङ जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । मेलापात, वनपाखा, खेतबारी, चोकचौतारी, चियापसल, पानीपधेँरा जताततै अहिले चुनावकै चर्चा हुने गरेको छ । एक
लमजुङमा किसानहरु खेतबारीमा लगाईएको खेतीबाली थन्क्याउने चटारोमा छन् भने अर्कोतिर राजनीतिक दल र दलका उम्मेदवारहरु आ–आफ्नो प्रचारप्रसारमा । अन्य समय खासै नागरिककोमा नपुग्ने विभिन्न दल तथा दलका उम्मेदवारहरु अहिले आफ्नो पक्षमा मत पार्न गाउँगाउँ पुग्न थालेका छन् । उनीहरु मत माग्दै किसानका खेतखलामै पुग्न थालेका छन् । विकास र समृद्धिका अनेकन सपना बाँडेका छन् । चुनावका बेला मात्रै नभई चुनाव जितेपछि पनि जिल्लाको विकासमा हातेमालो गर्नुपर्नेमा जोड दिन्छन्, लमजुङ भोटेओडारका दीपक डल्लाकोटी ।
लमजुङमा पनि लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनबीच चर्को चुनावी प्रतिष्पर्धा हुने देखिन्छ । लमजुङमा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि कांग्रेसका पुराना नेता दीलबहादुर घर्ती चुनावी मैदानमा छन् ।
दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा ‘क’ का लागि लोकतान्त्रिक गठबन्धनले कांग्रेसका गर्जबहादुर गुरुङ, प्रदेशसभा ‘ख’ मा कांग्रेसकै कृष्णप्रसाद कोईरालालाई चुनावी मैदानमा उतारेको छ । यसैगरी, वामगठबन्धनले प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङलाई चुनावी मैदानमा खडा गरेको छ । वाम गठबन्धनले प्रदेशसभा ‘क’ मा एमालेका धनन्जय दवाडी, प्रदेशसभा ‘ख’ मा एमालेकै पृथ्बीसुब्बा गुरुङलाई चुनावी मैदानमा उतारेको छ । विभिन्न दल तथा दलका उम्मेदवारसंग लमजुङका नागरिकको अपेक्षा फेरिएको छैन ।
चुनाव प्रचारप्रसारमा व्यस्त रहेका लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारहरुले जीत आफुहरुकै पोल्टामा पर्ने आ–आफ्नै दाबी र तर्क गर्दै आएका छन् । लमजुङ जिल्ला कांग्रेसको किल्ला रहेकाले आफुहरुले चुनाव जित्ने लोकतान्त्रिक गठबन्धनको तर्क छ । जिल्लाको धेरै स्थानीय तह वामले जितेको र एमाले माओवादीबीचको गठबन्धन भएको हुँदा आफुहरुले चुनाव जित्ने वामगठबन्धनका उम्मेदवारहरुको तर्क छ । यसरी हेर्दा लमजुङमा चर्चित नेताबीचको चुनावी भीडन्त निकै रोमाञ्चन हुने देखिएको छ ।