
झापा । झापाको काकडभिट्टामा आयोजित वाम गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्लेड जतिसुकै धारिलो भए पनि मुढो चिर्न बन्चरो नै चाहिने बताएका छन् । त्यसोत, एमाले अध्यक्ष ओलीले ब्यक्ति भन्दा दलका उद्धेश्य र प्राथमिकता हेरेर मतदान गर्न आव्हान गरेका छन् ।
झापा १ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले दल भन्दा ब्यक्ति हेरेर आफ्ना लागि मत मागिरहेका बेला ओलीले वाम गठबन्धनका साझा उम्मेदवार राम कार्कीलाई मुढो चिर्न सक्ने वन्चरोको बिम्ब प्रयोग गर्दै जिताउन आव्हान गरेका हुन् ।
ओली भने, ‘कांग्रेसका उम्मेदवार युवा र धारिलो नै हुनुहोला, तर, अव संसदमा मुढो चिर्नु छ । ब्लेड जति धारिलो भए पनि मुढो चिर्न काम लाग्दैन, बन्चरो नै चाहिन्छ ।’
ओलीले वाम गठबन्धनका उम्मेदवार फरक–फरक चुनाव चिन्हमा आए पनि सूर्य र हंसिया हथौडामा भोट हाल्नु एकै भएको बताए । ‘हामी चुनाव लगत्तै पार्टी एकतामा जाँदैछौं, अहिलेलाई प्रत्यक्षतर्फ यो क्षेत्रमा हंसिया हथौडामा र समानुपातिकमा सूर्य चिन्हमा मतदान गर्नुस्’ ओलीको आव्हान थियो, ‘प्राविधिक कारणले फरक चुनाव चिन्ह भएको हो, नत्र दुवै चिन्हमा भोट हाल्नु एउटै हो ।’
आफ्नो मन्तब्यको सुरुवातमा अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालका आजै दिवंगत भएका पुत्र प्रकाश दाहालको सम्झना गर्दै समवेदना प्रकट गरे । विहान मात्रै माओवादी अध्यक्ष दाहालसँग आफ्नो भेटघाट भएको र प्रकाशको निधनका कारण दाहाल आउन नसकेको सन्देश ओलीले सुनाउँदा सहभागिबीच शुन्यता छाएको थियो ।
पूर्वी नाकामा रहेको मेची भन्सार कार्यालय अगाडिको चोकमा भएको कार्यक्रममा ठूलो सहभागिता थियो । समारोहमा बोल्न सुरु गर्दै ओलीले माओवादी अध्यक्ष दाहाललाई पुत्रशोक परेकाले आफू लामो नबोल्ने बताएका थिए ।
आफ्नो सम्बोधनका क्रममा अध्यक्ष ओलीले झापा १ लाई जंगली हात्तीको आतंकवाट मुक्त गर्ने, भारतसँगको नाका ब्यवस्थित गर्ने र पर्यटकीय सम्भावनालाई प्रवद्र्धन गर्ने बताएका थिए ।