४ मंसिर २०७४, सोमबार
  • हरिकृष्ण गौतम

म्याग्दी । आसन्न निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन म्याग्दीमा कर्मचारीहरु खटाइएको छ । मत बदर कम गर्न निर्वाचन क्षेत्रमा मतदाता शिक्षालाई प्रभावकारी बनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयबाट खटिएका सामाजिक परिचालक र स्वयम् सेवकले टोल–टोल, सार्वजनिक कार्यक्रम, भेलासंगै घरघरमा पुगेर समेत मतदातालाई निर्वाचन सम्बन्धि विभिन्न जानकारी दिन सुरु गरेका छन् । मतदाता कार्यकर्ताले प्रतिनिधिसभा, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्रका बारेमा जानकारी, मत हाल्ने तरिका, मतपत्रलाई सुरक्षित तरिकाले पेटिका लगायतका विषयमा जानकारी गराउँने गरेका छन् ।

जिल्लाभर खटिएका मतदाता शिक्षा कार्याकर्ताले निरक्षर अभिभावकलाई विशेष प्राथमिकतामा राखेका छन् । स्थानीय निर्वाचनमा धेरै उम्मेदवारलाई मतदान गरेजस्तै आगामी निर्वाचनमा समेत मतपत्र तीनवटा हुने भएकाले पनि मतपत्रका बारेमा धेरैको जिज्ञासा राख्ने गरेका छन् । मतदाताले मतपत्रमा चुनाव चिन्ह समेत खोज्ने गरेको गुनासो समेत खटिएका स्वयमसेवकहरुको भनाई छ ।

जिल्लामा १ सय ६ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा ४५ वडामा जनसंख्याको आधारमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा कुल ७२ मतदानस्थल र १ सय ६ वटा मतदान केन्द्र तोकिएको छ ।

 

LIVE TV