
काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूमाथि आक्रमण बढ्दै गएको र ठाउँ ठाउँमा भएका विस्फोटका घटनाले मतदाताहरुको सुरक्षाको विषयमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पु¥याउने प्रयासको निन्दा गर्दै निर्वाचनको विषयमा देखिएको सुरक्षा चुनौतीलाई चिर्दै मतदाताहरुको सुरक्षामा ध्यान दिन समेत आग्रह गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूताबासले सोमबार विज्ञप्ति जारी गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गरेको छ ।
नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न सबैलाई आग्रह गरेको जनाएको छ । साथै दुतावासले सुरक्षा निकायलाई समेत कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मापदण्डहरूको पालना गर्न पनि आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।