४ मंसिर २०७४, सोमबार

काठमाडौं । प्रकाश दाहालको आइतबार बिहान हृदयघातका कारण निधन भएको थियो । आइतबार निधन भएका पुर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको एउटा महत्वपूर्ण सपना अधुरै रह्यो ।

दाहालका स्वकीय सचिव सन्तु दराईका अनुसार चितवनबाट ५ दिनअघि निर्वाचन सामग्री व्यवस्थापनका लागि प्रकाश काठमाडौं आएका थिए । उनी आइतबार (निधन भएको दिन) निर्वाचन सामग्री लिएर चितवन जाने कार्यक्रम थियो ।

त्यहाँबाट उनी पत्नी विना मगरलाई जिताउन कञ्चनपुर जाने योजना थियो । तर, आकस्मिक हृदयघातले उनलाई चितवन र कञ्चनपुर फर्किन दिएन् । आफूसँगै लगेर गयो ।

अर्थात असमायिक निधनले बुवा प्रचण्ड र पत्नी विना मगरलाई जिताउने प्रकाशको त्यस सपना अधुरै रह्यो । स्वकीय सचिव दराईले भने, ‘निर्वाचन सामग्री व्यवस्थापन गरी चितवन जाने कार्यक्रम थियो । चितवनपछि कञ्चनपुरमा निर्वाचन अभियानमा जाने कुरा गर्नुभएको थियो । तर, उहाँ आफै कहिल्यै नफर्किने गरी हामीलाई छाडेर जानुभयो ।’

पछिल्लो समय प्रकाश चितवन क्षेत्र नम्बर ३ मा बुवा प्रचण्डलाई जिताउन बढी सक्रिय थिए । र, कञ्चनपुर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार पत्नी विनालाई जिताउन लागिपरेका थिए । त्यसका लागि कञ्चनपुर जाने उनको योजना थियो । तर, सबै योजना अब अधुरै रहन गाएको छ ।

LIVE TV