४ मंसिर २०७४, सोमबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पुत्र वियोगको शोकमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री देउवा र ओलीसहित सोमबार विहान दाहाल निवास लाजिम्पाट पुगेका नेताहरुले स्वर्गीय प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरे । दुखद घटनापछि कतै नदेखिएकी सीता दाहाल पहिलो पटक समवेदना प्रकट गर्न पुगेकी ओली पत्नी राधिका शाक्यसँगै देखिइन्।

१६५ निर्वाचन क्षेत्रमा शोक सभा

नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको सम्झनामा भोलि (मंसिर ५ गते) सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने भएको छ। सोमबार बिहान बसेको माओवादी केन्द्रको विस्तारित केन्द्रीय समिति बैठकले चुनावी अभियानकै क्रममा १६५ निर्वाचन क्षेत्रमै शोक सभा गर्ने निर्णय गरेको हो।

यस्तै प्रचण्डको चुनावी क्षेत्रमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ । सभालाई एमाले अध्यक्ष ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् । तर, प्रचण्डले भने सम्बोधन नगर्ने भएका छन् ।

LIVE TV