
हरिकृष्ण
म्याग्दीमा आगामी निर्वाचनको चहलपहल बढ्दै गएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले निर्वाचनमा खटिने कर्मचारीहरुलाई आफ्नो राजनीतिक विचार नदेखाउन निर्देशन दिनुभएको छ ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अवधिभर आफ्नो राजनीतिक विचारलाई लुकाउन मुख्य निर्वाचन अधिकृत कोईरालाले निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैमा आग्रह गर्नुभएको छ । निर्वाचनका प्रतिनिधिको रुपमा खटिने मतदान, सहायक मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै कोईरालाले विभिन्न राजनीतिक दलको आस्थालाई दुरुपयोग नगर्न सचेत बनाउनुभएको हो ।
आइतबार देखी सुरु भएको दोस्रो चरणको निर्वाचनमा खटिने अधिकृत र सहायक मतदान अधिकृत तथा मतगणना सम्बन्धि प्रशिक्षणमा राजनीतिक आवरणमा देखाएमा तत्काल कारवाही गरिने कोइरालाले चेतावनी दिनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले निर्वाचनका लागि आवश्यक पर्ने सबै सुरक्षाको संयन्त्र तयार गरिएकाले निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई समेत निस्तेज पारिने बताउनुभयो ।
निर्वाचनका लागि जिल्लाका १ सय ६ मतदान केन्द्रमा अधिकृत र सहायक गरि २ सय १२, सहायक कर्मचारी ४ सय २३, सहयोगी कर्मचारी २ सय १२ गरी कूल ८ सय ४७ कर्मचारी परिचालन गरिएको छ । त्यस्तै मतदान अधिकृतले केन्द्रमा प्रयोग गर्न सक्ने स्वंयम सेवक ४ सय २२ लाई समेत नियुक्त गर्न सक्ने जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो । म्याग्दीमा प्रतिनिधिसभामा १, प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेकोमा ७२ मतदानस्थल, १०६ मतदान केन्द्र रहेका छन् । कुल ७५ हजार ५३८ जना मतदाता रहेका छन् ।