
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले बुझाएको नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ । दलहरुले पेश गरेको उम्मेद्वारहरुको बन्दसूची अन्तिमरुपमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको बन्दसूचीमा उजुरीका आधारमा २ सय ५३ जनाको नाम आयोगले उम्मेद्वार बन्न अयोग्य ठहर गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ २ हजार २ हजार ७३ उम्मेदवार कायम गरिएको छ । यसैगरी, सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि ३ हजार ५ सय ६५ उम्मेदवार कायम रहेका छन् । जस अनुसार प्रदेश नम्बर १ मा ५ सय ७७, प्रदेश नम्बर २ मा ८ सय ४, प्रदेश नम्बर ३ मा ७ सय ७४, प्रदेश नम्बर ४ मा ३ सय १९, प्रदेश नम्बर ५ मा ६ सय ४, प्रदेश नम्बर ६ मा २ सय ६ र प्रदेश नम्बर ७ मा २ सय ८१ उम्मेदवार कायम रहेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरु बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो । अन्तिमरुपमा सार्वजनिक गरिएको बन्दसूचीमा यसअघि प्रारम्भिक बन्दसूचीमा रहेका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुमध्ये २ सय ५६ जना उम्मेदवारको नाम हटेको छ । २ सय ५३ जना अयोग्य ठहर भएका छन् भने ३ जनाले आफ्नो नाम फिर्ता लिएका थिए ।