
- रिया भण्डारी
काठमाडौं । कम उमेरमा हृदयघातको घटना संसारभरी बढ्दो छ । जीवनशैली र खानपिनमा आएको परिवर्तनले पनि युवावस्थामा नै हृदयघातको सम्भावना बढेको चिकित्सकहरुको निष्कर्ष छ । युवावस्था हृदयघातमा बढ्नुको प्रमुख कारण नै धूमपान, मोटोपन र अस्वस्थ जीवनशैली भएको चिकित्सकहरु बताउछन् । चिकित्सकहरुले नेपालमा युवापुस्तामा हृदयाघात ह्वात्तै बढेको बताएका छन् । दस वर्षयता हृदयाघात पाँच गुणाले बढेको छ । जसमा १७ वर्षदेखि माथिका युवा पनि छन् ।
हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको अस्पताल नै पुग्न नपाई मृत्यु हुन्छ । हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्ने गरेको चिकित्सकहरूको भनाइ छ । हृदयघात हुनुभन्दा अगाडि यसको साधारण लक्षण मात्र हुन्छ। जब व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ उक्लदा, मानसिक तनाव बढ्दा छातिको बिचमा वा देब्रेतिर भारी हुने, ढुंगाले थिचे जस्तो अनुभव हुने, स्वाँ स्वाँ बढ्ने तर आराम गरे पछि सन्चो हुने कहिले काही देव्रे हातमा वा च्यापूतिर पनि दुखाई सरेको जस्तो हुन्छ भने यसलाई सामान्यरुपमा नलिइ तुरून्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरूरी हुन्छ ।
अधिकाशं मानिसहरु यस्ता लक्षणलाई सामान्य सोचेर घरमै बस्ने गर्दा अन्त्यमा हृदयघात पनि हुनसक्छ । हृदयघात भइसकेपछि उपचार सहज हुँदैन। देव्रे मुख्य धमनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ । किनकी पहिलो हृदयघातमा नै मृत्युसम्म हुन सक्छ । पुरुषलाई बढी हृदयघात हुन्छ भने महिलालाई महिनावारि बन्द भएपछि पुरूषलाई जतिकै हुन्छ । धुम्रपान गर्ने उच्च रक्तचाप भएका मधुमेह, उच्च कोलेस्टेरोल, व्यायाम नगर्ने ,मानसिक तनाव ,जीवन शैली ,मोटोपनाले हृदयघात हुनसक्छ हृदयघातबाट बच्न दैनिक आधा घण्टा व्यायाम गर्न आवश्यक मानिन्छ ।
बाहिरको तारेको खाना परहेज गर्ने, धुमपान र मद्यपान नगर्नु पनि उचित मानिन्छ । गंगालाल अस्पतालको गत वर्षको तथ्यांकअनुसार अस्पतालमा १ हजार १ सय ८८ जनाको हृदयाघातको उपचार गरिएको छ । दक्षिण एसियामा सन् २०२० सम्ममा मुटुरोग महामारीका रूपमा फैलिने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरिसकेको छ । अहिले नेपालको शहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १७ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या १५ प्रतिशत रहेको चिकित्सकहरूको अनुमान छ ।