
सरिना मरासिनी
आसन्न निर्वाचनलाई लिएर सरकारले भारतीय सीमानाकाहरुमा कडाईं गर्ने भएको छ । नेपाल र भारतका सुरक्षा तथा प्रशासन निकायबीच नेपालको आसन्न निर्वाचनलाई लिएर सीमा सुरक्षा कडा पार्ने सहमति भएको हो ।
छलफबाट निर्वाचनलाई मध्यनजर गर्दे सुरक्षा र शान्ति कायम राख्न मतदान हुने समय देखि ४८ घण्टा पहिले मंसिर १९, २० र २१ गते सीमा नाका सील बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै, भारतको उत्तर प्रदेशमा हुने स्थानीय तह निर्वाचन अघि पनि जिल्लाका सीमा नाका मंसिर १२ र १३ गतेका लागि बन्द गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
दुबै देशको निर्वाचनलाई सफल पार्न दुवै देशका प्रशासनले पूर्ण सहयोग गर्ने बताएका छन । शनिवार भारतको नौतनवामा रहेको सीमा सुरक्षा बलको मुख्यालय दो मुहान घाटमा सम्पन्न छलफलमा सीमामा विशेष निगरानी बढाउने सहमति समेत भएको छ ।
नेपाल भारतको दुवै देशका नागिरकता लिएका व्यक्तिहरु उपर निगरानी गरी प्रमाण सहित आवश्यक कानुनी कारवाही गर्ने, नाकामा कडाइका साथ चेकजाँज गर्ने, अराजक तत्व, लागुपदार्थ ओसारपसार, मादक पदार्थको सेवन÷तस्करी, शंकास्पद वस्तु र व्यक्तिमा विशेष कडा निगरानी गर्ने निर्णय गरेका छन् ।
खुला सिमानामा दुबै तर्फबाट गस्ती गर्नुका साथै नाकामा पुलिस र एसएसबीसिमा सुरक्षा बलबाट कडा जाँच गर्ने बताईएको छ । सीमा बन्द रहेका बेला पर्यटक तथा एम्बुलेसलाई निर्वाधरुपमा चल्न दिने र ७२ घण्टा पहिले अन्य सवारीसाधन आवागमन ठप्प गर्ने बताइएको छ ।