निमेन्द्र शाही बाजुराका सबै निर्वाचन केन्द्रमा कर्मचारी खटाइएको छ । जिल्लाका विभिन्न केन्द्रहरुमा आईतबार जिल्ला निर्वाचन कार्यालयले कर्मचारी खटाएको हो । निर्वाचन कार्यालयले यस अघि नै निर्बाचन केन्द्रमा कर्मचारीको नियुक्ति गरेको थियो भने निर्वाचन कार्यालयले केही कर्मचारीको हेरफेर गरेको थियो । कर्मचारी हेरफेर गरेको भन्दै आइतबार बाम गठबन्धनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको थियो । बाम गठबन्धनले ताला लगाएसंगै बाजुराका निर्वाचनका लागि खटिने कर्मचारी अन्योलमा परेको थियो । तर निर्वाचन कार्यालयले पहिला नै गरेको नियुक्तिलाई निरन्तरता दिने सहमतिसंगै ताला खोलिएको र निर्वाचनका लागि कर्मचारीलाई निर्वाचन केन्द्रमा पठाएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । शनिवार प्रधानमन्त्री बाजुरा पुगेको बेलामा कर्मचारीहरुले कर्मचारी हेरफेर गर्न ज्ञापनपत्र बुझाएको थियो भने निर्वाचन कार्यालयले कर्मचारी हेरफेर गरेसंगै निर्वाचनको कार्यालयमा बाम गठबन्धनले ताला लगाएको थियो । जिल्लाका ७० मतदान स्थलमा ३१ मतदान स्थल अति संवेदनशील, ३१ संवेदनशील र आठओटा मात्र सामान्य रहेको जिल्ला सुरक्षा समितिको निष्कर्ष छ । जिल्लामा प्रतिनिधिसभाको लागि एक निर्वाचन क्षेत्र र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेका छन । जिल्लामा ६९ हजार आठ सय ३४ ले मतदातालाइ मताधिकार प्रयोग गर्नको लागि ६९ मतदान स्थल र एक सय मतदान केन्द्रहरुको ब्यवस्था गरिएको छ भने करीब आठ सय कर्मचारीहरु खटाईएका छन् । जिल्लामा भौगोलिक रुपमा टाढा रहेका मतदान केन्दमा कर्मचारीहरु खटाइएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत धनबहादुर बिष्टले जानकारी दिनुभयो । मतदान केन्द्रमा कर्मचारी खटिएसंगै जिल्लामा निर्वाचनको माहोल बढेको छ । दुर्गम तथा हिमाली क्षेत्रका मतदान स्थलमा पुग्न सदरमुकामबाट ५ दिन लाग्ने भएका कारण आईतबार नै कर्मचारी खटाएको हो । दुर्गम मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याउने तयारी जिल्ला निर्वाचान कार्यालय बाजुराले गरेको छ ।