
छविलाल बगाले
मुलुकमा निर्माण सम्पन्न भएका आयोजनाहरूमध्ये सबैभन्दा लामो सुरुङ रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य सुरुङको निर्माण पूरा भएको छ । राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी स्वदेशी लगानीमा निर्माण भइरहेको अहिलेसममकै ठूलो जलविद्युत् आयोजना पनि हो ।
आयोजनाको ८ दशालव ४ किलोमिटर मुख्य सुरुङको निर्माण सकिएपछि मुलुकको उर्जा क्षेत्रमा खुसियाली भित्रिएको छ । स्वदेशी लगानीमा पनि ठूला आयोजनाहरु निर्माण गर्न सकिने उदाहरण माथिल्लो तामाकोशीले दिएको छ । मुलुकमा राजनैतिक स्थायित्व, लगानीमैत्री वातावरण र शान्ति सुरक्षा हुने हो भने आगामी १० बर्षभित्रमा नेपालको जलविद्युत क्षेत्रले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने देखिन्छ ।
निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कुनै पनि बाधा अवरोध नआए आगामी एक वर्षभित्रै ४ सय ५६ मेगावाट विद्युत उत्पान सुरु हुनेछ । अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको रूपमा निर्माणाधीन यस आयोजनालाई विद्युत विकासको कोसेढुंगाकै रूपमा राज्यले लिएको छ ।
दोलखामा निर्माणाधीन बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको यो आयोजनाको सुरुङ छेडिएको छ । आयोजनाको साँढे ८ किलोमिटर लामो मुख्य सुरुङ आइतबार छेडिएको हो । ऊर्जा सचिव अनुपकुमार उपाध्यायले १ दशमलव ९ मिटर सुरुङ पूरा गर्न निर्देशन दिएपछि अन्तिम विष्फोट गराइएको छ । मुख्य सुरुङ छेडिएसँगै आयोजनाको सहायक (अडिट) सहित १८ दशमलव २ किलोमिटर सुरुङको काम पूरा भएको छ ।
सुरुङ छेडिने अन्तिम दिनलाई लक्षित गरी ऊर्जा सचिव उपाध्याय, सहसचिवद्वय दिनेशकुमार घिमिरे प्रविण अर्याल तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली आयोजना स्थल पुगेको थियो । अहिलेसम्म आयोजनाको ९३ प्रतिशत निर्माण पूरा भएको छ । सुरुङ पूरा भएपछि सफाई तथा कंक्रिटिङको काम सुरु गरिने आयोजनाले जनाएको छ ।
आयोजनाबाट २०७५ पुसमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत विद्युतगृहदेखि ४७ किलोमिटरको दूरीमा निर्माण हुने २२०÷१३२ केभी न्यू–खिम्ती सबस्टेसनमा जोडिनेछ । गोंगर–खिम्ती २२० केभी प्रसारण लाइनका एकसय २७ टावरमध्ये अधिकांशको जग निर्माण गर्ने काम पनि पूरा भएको आयोजनाले जनाएको छ । २०६७ भदौमा सुरु भएको निर्माण ५ वर्ष १० महिनामा पूरा गर्ने लक्ष्य थियो । तर, २०७२ बैशाखमा गएको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण आयोजनाको समय करिब दुई वर्ष लम्बिन पुगेको छ ।
समय लम्बिएसँगै यसको लागत पनि थपिएको छ । सुरुमा कूल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । पछि लागत संशोधन गरी ४० अर्ब रुपैयाँ पुग्ने भएको छ । भूकम्प, नाकाबन्दीको असर र अमेरिकी डलरमा आएको उतारचढावका कारण लागत करिब ६० अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।
६० अर्ब रुपैयाँ पुगे पनि प्रतिमेगावाट लागतका हिसाबले आयोजना सस्तो हुनेछ । उक्त लागतमा तामाकोसीको प्रतिमेगावाट लागत करिब १३ करोड रुपैयाँ हुनेछ । अहिले निजी क्षेत्रले निर्माण गर्ने आयोजनाको लागत १८ करोडदेखि २० करोड रुपैयाँ पुग्ने गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘अपर तामाकोसी हाइड्रोपावर कम्पनी’ गठन गरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा समिति, नेपाल टेलिकम लगायतको ऋण र स्वँपुजी (सेयर) मा निर्माण हुन लागेको नेपालको यो सबैभन्दा ठूलो आयोजना हो । कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब रूपैयाँ लगानी आयोजनामा छ ।
१० महिनाभित्र तामाकोसीले विद्युत् उत्पादन गरिसक्ने गरी निर्माण कार्य अघि बढिरहेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । आयोजनाबाट २ अर्ब २८ करोड युनिट बराबरको विद्युत् उत्पादन हुनेछ । आयोजनाका अनुसार सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिए पनि सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको सिंगटीसम्मको सडक निर्माणाधीन अवस्थामा रहेकोले इलेक्ट्रोमेकानिकलका लागि आवश्यक सामानहरू आयोजना स्थलमा पु¥याउने कार्यमा भने ढिलाइ भइरहेको छ ।