
ठेकेदारहरु ठेक्का हत्याउनका लागि अनेक उपाय अपनाउँछन् । ठेक्का पाएपछि तिनै ठेकेदारहरु म्याद यतिबर्ष र उति बर्ष बाँकी छ भन्दै आलटाल गरेर समय गुजार्ने गर्दछन् । ठेक्काको अन्तिम म्याद सकिएपछि आफु निकट दल वा कार्यालय प्रमुखहरुसँग मिलेमतोको आधारमा ठेक्काको म्याद थप्ने गर्दछन् । तर ठेकेदारहरुको यि र यस्ता नियत कुनै नौलो विषय भने होइन् । यस्तै भएको छ हिमाली जिल्ला ताप्लेजुङको तमोर नदीमा निर्माण गर्ने भनिएको मोटरेवल पुलको । जुन पुलको ठेक्का सम्झौता २०७० मा सकिएर ठेकेदारले तीन पटकसम्म म्याद थप्न लगाएको छ ।
ताप्लेजुङको दोभानस्थित तमोर नदीमा निर्माण गर्ने भनिएको मोटरेवल पुल २०७० सालको चैत महिनाभित्रै सकिनुपर्ने भएपनि ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयको लापरबाहीका कारण आजसम्म पनि निर्माण हुन सकेको छैन् । ठेकेदारले सम्झौता अनुसार काम गरेको भए यो पुल चार वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने हो । तर, ठेकेदार र सडक डिभिजन कार्यालयको लापरवाही र मिलेमतोका कारण सम्झौता भएको आठ वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन ।
२०७० चैतमा सम्झौताको अवधि सकिए यता ठेकेदार कम्पनीले तीनपटक म्याद थप गराएको छ । ठेकेदारले काममा ढिलासुस्ती गरे पनि सरकारी निकायले ताकेता नगर्नुले धेरै प्रश्नहरु जन्माएका छन् । यसले जिल्लाबासीमा सडक डिभिजन कार्यालयको गम्भिर त्रुटि भएको महशुष गराएको छ ।
सडक डिभिजन कार्यालयले ठेकेदारको कुरा सुनेर म्याद थप गर्ने र समस्या देखाएर पन्छिने ठेकेदारका कारण बजेट भएपनि पुल बन्न नसकेको प्रष्ट देखिन्छ । कुल १० करोड रुपैयाँको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङहाङ गरी तीन कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग सम्झौता गरेका थिए । सम्झौता भएको ८ वर्ष बितिसक्दा पनि पुल नवन्दा प्रभावित क्षेत्रका स्थानियलाई सास्ती भएको छ ।
अहिले दोभान बजारको वारिसम्म ट्रक, बस तथा ट्याक्सीहरु पुगेपनि पुल निर्माण नहुँदा उनिहरुलाई आवतजावतमा सम्स्या हुने गरेको छ । पुलवारि नै सामान झारेर भरियालाई बोकाएर नदी पार गर्नुपर्ने यहाँका स्थानियको दैनिकी जस्तै बनेको छ । उनिहरुले सामान पुल तार्दा ५० किलोको बोरालाई ३० र खुद्रा सामान एक रुपैयाँ किलो ढुवानी वापतको रकम बुझाउनुपर्दछ ।
गतवर्ष पनि ठेकेदारले वर्षायाम सुरु भएपछि काम थालेका थिए । तर, ९० प्रतिशत काम सकिएपछि साउन १ गते विहान बाढीले बगाएको थियो । बर्खा लागेपछि खोलो बढ्ने हुँदा काम रोक्न आग्रह गर्दागर्दै पनि अटेर गरेका कारण पुल बगाएको स्थानीयको दावी छ ।
चीन र भारतलाई छोटो दूरीमा जोड्ने निर्माणाधीन तमोर करिडोर पनि यहीं पुल हुँदै जान्छ । तेह्रथुम, संखुवासभा हुँदै धनकुटा, धरान र विराटनगरलगायत पूर्वका प्रमुख शहरसँग ताप्लेजुङको सम्बन्ध जोड्ने यो पुललाई स्थानीयवासीले विकासको मुख्य खुड्किलोका रूपमा लिएका छन् । यता पुल निर्माणको सबै काम हेर्ने सरकारी निकाय उत्तर दक्षिण सडक योजना कार्यालय ताप्लेजुङले पनि ठेकेदारकै कारण पूल निर्माण कार्य ढिलो भएको भन्दै आफ्नो बचाउ गर्दै आएको छ ।
इञ्जिनियर नेपालीले आठ वर्ष अघिको स्टेटमेन्टको आधारमा ठेकेदार कम्पनीले काम गर्नुपर्ने भएकाले पनि उसका लागि यो नै ठूलो कारवाही भएको वताउँछन् । पुल निर्माणका लागि अहिले काम सुरु भएको समेत दावी छ । पूल निर्माणका लागि चाहिने सामग्रीहरु उत्पादन भइरहेको र केही दिनमै सो पूल निर्माण कार्य सुरु भई आगामी चैत्र मसान्त भित्रमा पुल निर्माण भैसक्ने तर यो बर्ष पनि पूल निर्माण नभए ठेक्का तोडिने इञ्जिनियर नेपालीको भनाई छ । ताप्लेजुङको विकासको मुख्य खुड्किलोका रूपमा लिईएको यो पुल निमार्णमा देखाइएको उदासिनताले आम ताप्लेजुङवासी आश्चर्यमा पर्दै आएका छन् ।