३ मंसिर २०७४, आईतवार

रसुवामा निर्माणाधिन ५७ दशमलव ३ मेगावाटका २ वटा जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी साञ्जेन जलविद्युत कम्पनीले कर्मचारीका लागि छुट्टयाइएको २४ प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

साञ्जेन जलविद्युत कम्पनीले एक महिनाभित्र कर्मचारीका लागि छुट्टयाएको २४ प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणाधीन ५७ दशमलव ३ मेगावाटको माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको सेयर निष्कासनको तयारी थालेको हो ।

नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगेकाले पहिलो चरणको सेयर निष्कासनको तयारी भइरहेको कम्पनीले जनाएको छ । समयमा सेयर निष्कासन र बाँडफाँड गर्न नसकेका कारण आयोजनाको खर्च संचालनमा कठिनाई भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट स्वीकृति पाएको डेढ महिनाको अवधिमा सेयर निष्कासन र बाँडफाँडको काम पूरा हुनेछ ।

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, जिल्ला समन्वय समिति रसुवा र साविक चिलिमे गाविसका कर्मचारीका लागि सेयर निष्कासन गर्ने तयरी गरेको छ । पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन हुनेछ ।

कम्पनीका अनुसार सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, प्राधिकरणका लागि ३ दशमलव ५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ । सेयर विक्री प्रबन्धक नागरिक लगानी कोषलाई नियुक्ति गरिएको छ ।

दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन हुनेछ । ७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वपुँजी छ । स्वपुँजीमध्ये चिलिमे कम्पनीको ३८, प्राधिकरणको १० र ३ प्रतिशत जिविस रसुवा र चिलिमे गाविसको छ ।

LIVE TV